इन्फो नेपाल — सञ्चारको सञ्जाल

बजेट कार्यान्वयन मात्रै होइन, गुणस्तरीय शिक्षा मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले शिक्षा क्षेत्रमा बजेट कार्यान्वयन गर्नु मात्रै पर्याप्त नहुने भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य लक्ष्य हुनुपर्ने बताएका छन्।

शुक्रबार हेटौँडामा शिक्षा विकास निर्देशनालयले आयोजना गरेको ‘न्यून साक्षरता भएका स्थानीय तहमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम’को अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री तामाङले अति विपन्न, पिछडिएका, सीमान्तकृत तथा लोपोन्मुख समुदायका बालबालिकासम्म गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्नुपर्ने बताए।

“बजेटको कार्यक्रममा काम गर्नु मात्रै हाम्रो लक्ष्य होइन, गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो लक्ष्य हो,” उनले भने, “कार्यक्रम सम्पन्न भयो भन्नेमा मात्रै सीमित भयौँ भने अपेक्षित परिणाम आउँदैन।”

उनले नेपालको भूगोल, स्रोत, जनजीवन र आवश्यकताअनुसार मौलिक तथा व्यवहारिक शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। विदेशी शिक्षा प्रणालीको नक्कल मात्रै गर्नुभन्दा स्थानीय आवश्यकता, कृषि, सीप, प्रविधि तथा भूगोलसँग जोडिएको शिक्षा प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो।

सूचना प्रविधिको तीव्र विकाससँगै शिक्षा प्रणालीलाई पनि समयानुकूल परिवर्तन गर्नुपर्ने बताउँदै मन्त्री तामाङले शिक्षालाई प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक रहेको उल्लेख गरे।

स्थानीय तह नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएको सरकार भएकाले शिक्षाको गुणस्तर सुधारमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उनले बताए। आधारभूत तहदेखि नै प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न सके त्यसले दीर्घकालीन रूपमा मुलुकको विकासमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।

शिक्षा विकास निर्देशनालयका निर्देशक गोपाल प्रसाद कडेलको अध्यक्षतामा भएको कार्यक्रममा न्यून साक्षरता भएका स्थानीय तहमा सञ्चालन हुने शैक्षिक गुणस्तर सुधार कार्यक्रमको कार्यान्वयन, चुनौती तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।

सम्बन्धित समाचार

हेटौँडा कपडा उद्योगका २० लुम चल्न थाले, पुराना मेसिन आधुनिक बनाउने सम्भावना खोजिँदै

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका २० वटा लुमबाट परीक्षण उत्पादन सुरु भएको छ। उद्योगमा रहेका पुराना मेसिनलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन गर्न सकिने सम्भाव…

बसन्त भण्डारी

हेटौँडा अस्पतालका चिकित्सक जबरजस्ती करणीको आरोपमा पक्राउ

हेटाैँडा । हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगर नजिक डेरा गरी बस्दै आ…

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता