मकवानपुर । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ। बागमतीले १६ स्वर्ण, ९ रजत र १० कांस्यसहित कुल ३५ पदक जित्दै शीर्ष स्थान हात पारेको हो।
प्रतियोगितामा एनआरएन टोली १२ स्वर्ण, ४ रजत र ४ कांस्यसहित कुल २० पदक जितेर दोस्रो भएको छ। नेपाल आर्मी क्लब ७ स्वर्ण, १५ रजत र १७ कांस्यसहित कुल ३९ पदकका साथ तेस्रो स्थानमा रह्यो। नेपाल पुलिस क्लब ६ स्वर्ण, १४ रजत र १६ कांस्यसहित कुल ३६ पदक जित्दै चौथो, कोशी प्रदेश ३ स्वर्णसहित पाँचौँ र सुदूरपश्चिम प्रदेश २ स्वर्ण, ४ रजत र १ कांस्यसहित कुल ७ पदकका साथ छैटौँ भएका छन्। टिमगततर्फ पुरुषमा बागमती र महिलामा एनआरएन टोली च्याम्पियन बनेका छन्।
प्रतियोगिताको अन्तिम दिन शुक्रबार पुरुष २०० मिटर बटरफ्लाईमा तीन खेलाडीले पुरानो राष्ट्रिय कीर्तिमान भंग गरे। नेपाली पौडीमा एउटै स्पर्धामा तीन खेलाडीले कीर्तिमान तोडेको यो नयाँ इतिहास हो। यसअघि अशिम भण्डारीको नाममा २ मिनेट २१.८७ सेकेन्डको कीर्तिमान थियो। शुक्रबार सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट १८.३० सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमानसहित स्वर्ण जिते। आर्मीका सौरेन बहादुर सिंहले २ मिनेट १९.८१ सेकेन्डमा रजत तथा आर्मीकै अशिम भण्डारीले २ मिनेट २०.११ सेकेन्डमा कांस्य पदक जित्दा दुवैले पुरानो कीर्तिमानभन्दा छिटो समय निकाले।
यस्तै, महिला २०० मिटर बटरफ्लाईमा एनआरएनकी लिलीले २ मिनेट ३३.२० सेकेन्डको समय निकाल्दै डुआना लामाको नाममा रहेको २ मिनेट ३५.२९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडिन्। उक्त स्पर्धामा आर्मीकी डुआना लामाले २ मिनेट ३९.९४ सेकेन्डमा रजत र पुलिसकी देभान्सी जोशीले ३ मिनेट ०३.१३ सेकेन्डमा कांस्य जितिन्। पुरुष ८०० मिटर फ्रिस्टायलमा पुलिसका काल्किन श्रेष्ठले ९ मिनेट ०३.२१ सेकेन्डको समयसहित स्वर्ण पदक जिते। सुदूरपश्चिमका अर्थभ सिंहले १० मिनेट ०१.९६ सेकेन्डमा रजत र पुलिसका रचित बुढाथोकीले १० मिनेट ३३.६८ सेकेन्डमा कांस्य हात पारे।
अन्य व्यक्तिगत स्पर्धातर्फ महिला ४०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले ४ मिनेट ४३.११ सेकेन्डमा स्वर्ण, आर्मीकी डुआना लामाले ४ मिनेट ५२.६२ सेकेन्डमा रजत र एनआरएनकी मिखा काया थापाले ५ मिनेट ०२.७६ सेकेन्डमा कांस्य जिते। पुरुष २०० मिटर इन्डिभिजुअल मिड्लेमा बागमतीका अभिभ प्रधानले २ मिनेट १६.९६ सेकेन्डमा स्वर्ण, पुलिसका इर्भिन श्रेष्ठले २ मिनेट २०.१६ सेकेन्डमा रजत र पुलिसकै काल्किन श्रेष्ठले २ मिनेट २२.०९ सेकेन्डमा कांस्य पदक जिते।
महिला १०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुआना लामाले १ मिनेट १९.९२ सेकेन्डमा स्वर्ण, एनआरएनकी लिलीले १ मिनेट २२.५५ सेकेन्डमा रजत र बागमतीकी रोयल प्रजापतिले १ मिनेट २४.१८ सेकेन्डमा कांस्य जितिन्। पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा कोशीका विकास कुमालले १ मिनेट ०८.२५ सेकेन्डमा स्वर्ण, आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०८.६४ सेकेन्डमा रजत र बागमतीका आरिक कर्माचार्यले १ मिनेट १६.६४ सेकेन्डमा कांस्य हात पारे।
महिला ५० मिटर फ्रिस्टायलमा एनआरएनकी मिखा काया थापाले २९.१५ सेकेन्डमा स्वर्ण, बागमतीकी आर्या महर्जनले २९.४९ सेकेन्डमा रजत र बागमतीकै रोयल प्रजापतिले ३०.०९ सेकेन्डमा कांस्य जितिन्। पुरुष ५० मिटर फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले स्वर्ण, बागमतीका अभिभ प्रधानले रजत र आर्मीका अल्भि महर्जनले कांस्य पदक जिते।
रिले स्पर्धातर्फ महिला ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमतीले ४ मिनेट २८.८६ सेकेन्डमा स्वर्ण, आर्मीले ४ मिनेट ३१.०६ सेकेन्डमा रजत र पुलिसले ४ मिनेट ४४.४० सेकेन्डमा कांस्य जिते। पुरुष ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेमा बागमतीले १ मिनेट ४१.९२ सेकेन्डमा स्वर्ण, पुलिसले १ मिनेट ४४.२६ सेकेन्डमा रजत र आर्मीले १ मिनेट ४४.४७ सेकेन्डमा कांस्य हात पारे। महिला ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले २ मिनेट १६.०१ सेकेन्डमा स्वर्ण, पुलिसले २ मिनेट १९.७६ सेकेन्डमा रजत र आर्मीले २ मिनेट २०.०१ सेकेन्डमा कांस्य पदक जिते।


