चितवन
नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो रोकथामको काम सुरु हुने भएपछि सडकमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरेको हो।
केही समयदेखि स्थगित रहेको नारायणगढ–मुग्लिन सडक आयोजनाअन्तर्गत तुइनखोलाखण्डमा पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको प्रशासनले जनाएको छ। कामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सवारी आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि घोप्टेभिरमा खसिरहेको सुक्खा पहिरोको जोखिम न्यूनीकरणका लागि मंसिर ५ गतेदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिएको थियो। घोप्टेभिरमा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको थियो।
प्रशासनले सवारीचालक, यातायात व्यवसायी र यात्रुलाई समय मिलाएर यात्रा गर्न आग्रह गरेको छ। काठमाडौंबाट मुग्लिन हुँदै आँबुखैरेनी र पोखरातर्फ जाने सडकखण्डमा भने सवारी आवागमन नियमित रहने जनाइएको छ।



