मकवानपुर । विश्वभर हरेक वर्ष करिब १ करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २७) को अवसरमा राष्ट्रसङ्घले यस्ता विवाह रोक्न विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको हो।
राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२६ सम्म विश्वमा जीवित रहेका करिब ६५ करोड महिला तथा बालिकाको विवाह १८ वर्ष नपुग्दै भएको थियो। विश्वभर हरेक पाँचमध्ये एक बालिकाको बाल्यकालमै विवाह हुने गरेको छ भने हरेक तीन सेकेन्डमा एक बालिका बालविवाहको सिकार बन्ने गरेकी छन्।
बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाली क्षेत्रले बेहोर्दै आएको राष्ट्रसङ्घले उल्लेख गरेको छ। विश्वभर बालविवाहमा परेका कुल महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा मात्र छन्।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहका कारण लाखौँ बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर परिरहेको बताए। यद्यपि, पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका प्रयासबाट करिब ६ करोड ८० लाख बालविवाह रोक्न सफलता मिलेको राष्ट्रसङ्घको भनाइ छ।
राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का उपकार्यकारी निर्देशक टेड चाइबानले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने विश्वव्यापी लक्ष्य हासिल गर्न अहिले भइरहेको प्रयासको गति २० गुणा बढाउनुपर्ने बताए।
संयुक्त राष्ट्रसङ्घको महासभाले गत सेप्टेम्बर ४ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष नोभेम्बर २७ लाई बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आज शुक्रबार पहिलो पटक यो दिवस मनाइँदैछ।



