इन्फो नेपाल — सञ्चारको सञ्जाल
Read in English →

हेटौँडा कपडा उद्योगका २० लुम चल्न थाले, पुराना मेसिन आधुनिक बनाउने सम्भावना खोजिँदै

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका २० वटा लुमबाट परीक्षण उत्पादन सुरु भएको छ। उद्योगमा रहेका पुराना मेसिनलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने भएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शुक्रबार हेटौँडा उपमहानगरपालिका–८ स्थित उद्योगको अवलोकन गर्दै सञ्चालनमा ल्याइएका मेसिन, परीक्षण उत्पादन र बाँकी चुनौतीबारे जानकारी लिएका छन्।

उद्योगमा रहेका ४८८ मेसिनमध्ये नेपाली सेनाले मर्मत र सरसफाइ गरेपछि अहिले २० वटा लुमबाट कपडा बुन्न थालिएको छ। बाँकी मेसिन मर्मतको चरणमा छन्। बाहिरबाट धागो ल्याएर पुराना मेसिनले कस्तो र कति कपडा उत्पादन गर्न सक्छन् भन्ने परीक्षण भइरहेको छ।

अवलोकनपछि मन्त्री पुनले मेसिन निर्माण गर्ने चिनियाँ कम्पनी नै बन्द भइसकेकाले आवश्यक पार्टपुर्जा जुटाउनु मुख्य चुनौती रहेको बताए। पुरानै स्वरूपमा सबै मेसिन सञ्चालन गर्न कठिन देखिए पनि आधुनिक प्रविधि प्रयोग गरेर परिमार्जन गर्न सके उत्पादन सम्भव हुनसक्ने उनको भनाइ छ।

सरकारी स्वामित्वका पुराना उद्योगलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत पुनर्जीवन दिन सकिने सम्भावना खोज्न उद्योगको अवस्था बुझ्न आएको उनले बताए। पुराना उद्योग सञ्चालनका लागि मेसिन मर्मतमा मात्रै सीमित नभई अनुसन्धान तथा प्रविधि विकासमा केन्द्रित छुट्टै इकाइ आवश्यक रहेको उनको धारणा छ।

उद्योग पुनः सञ्चालन गर्ने सरकारी निर्णयपछि सरसफाइ, विद्युत् प्रणाली सुधार र मेसिन मर्मतको काम अघि बढाइएको हो। सरकारले गत असार १८ गते उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। परीक्षण उत्पादनका लागि सरकारले ३३ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ।

अवलोकनका क्रममा सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी मुकेश बाटाजुले उद्योगका मेसिनको अवस्था, मर्मतको प्रगति र परीक्षण उत्पादनबारे मन्त्री पुनलाई जानकारी दिएका थिए।

विसं २०५७ देखि बन्द रहेको उद्योग पुनः सञ्चालनका लागि यसअघि पनि पटक–पटक छलफल र योजना बनेका थिए। पछिल्लो सरकारी निर्णयपछि भने मेसिन सफाइ तथा मर्मत गरेर सीमित लुमबाट कपडा बुन्ने काम सुरु भएको छ। परीक्षण उत्पादनको नतिजाले उद्योगलाई कुन ढाँचामा र कति क्षमतामा सञ्चालन गर्न सकिन्छ भन्ने निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्री पुनले वीरगञ्जस्थित कृषि औजार कारखानाको करिब चार बिघा क्षेत्रमा अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्ताव पनि अघि सारेका छन्। उक्त केन्द्र स्थापना गर्न ७० देखि ८० करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको उनले बताए। अनुसन्धान तथा प्रविधि विकासका काममा नेपाली सेनासँग सहकार्य गर्न सकिने उनको भनाइ छ।

सम्बन्धित समाचार

बजेट कार्यान्वयन मात्रै होइन, गुणस्तरीय शिक्षा मुख्य लक्ष्य हुनुपर्छ : मन्त्री तामाङ

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले शिक्षा क्षेत्रमा बजेट कार्यान्वयन गर्नु मात्रै पर्याप्त नहुने भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख…

हेटौँडा अस्पतालका चिकित्सक जबरजस्ती करणीको आरोपमा पक्राउ

हेटाैँडा । हेटौँडा अस्पतालमा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका–४ घर भई हाल हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगर नजिक डेरा गरी बस्दै आ…

English

Sonam Lhosar: Festival of Tamang

Different types of cultural festivals are celebrated in Nepal. Lhosar is one of them, and it is the new year of the Sherpa, Tamang, Gurung, Dura, Lepcha and Bhote communities. Ther…

Info Nepal

भीमफेदी दुर्घटनाको प्रतिवेदन : ४९ घण्टामा करिब ३४ घण्टा यात्रा, ११ सिटको ईभीमा २० जना

भीमफेदीमा १४ जनाको ज्यान गएको ईभी दुर्घटनाको छानबिन प्रतिवेदनले चालकको लगातार लामो यात्रा र पर्याप्त विश्रामको अभावलाई सम्भावित कारण मानेको छ। ११ जनाको क्षमता भएको गाडीमा २० जना सव…

इन्फो नेपाल संवाददाता