इन्फो नेपाल — सञ्चारको सञ्जाल
Read in English →

आँखामा पट्टी बाँधेर ‘ठूला नाम’विरुद्ध बोल्न दबाब, प्रहरीकै सामग्री पढाएर अडिओ बनाएको इनमको आरोप

गगन थापा, चोलेन्द्रशमशेर जबरा र मीनबहादुर गुरुङसहित विभिन्न व्यक्तिविरुद्ध बयान दिए छाड्ने, नमाने परिवारलाई समेत अप्ठ्यारो पार्ने धम्की दिइएको दाबी

विमानस्थलको अन्तिम सुरक्षा जाँचस्थलबाट नियन्त्रणमा लिने, मोबाइल खोस्ने, आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थानमा पुर्‍याउने अनि देशका प्रभावशाली नेता, व्यवसायी र न्यायाधीशविरुद्ध बयान दिन दबाब दिने।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाले आफूमाथि यस्तै व्यवहार भएको गम्भीर आरोप लगाएका छन्। प्रहरीले तयार पारेको सामग्री जबर्जस्ती पढ्न लगाई त्यसको अडिओ रेकर्ड गरेको र पछि काटछाँट गरेर सार्वजनिक गराएको उनको दाबी छ।

आफू र परिवारको जिउज्यानसमेत जोखिममा रहेको भन्दै इनमले राष्ट्रिय मानवअधिकार आयोग गुहारेका छन्। उनका तर्फबाट पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा पाँच पृष्ठको निवेदन दर्ता गराएकी हुन्।

आयोगसम्बद्ध स्रोतले निवेदन दर्ता भएको पुष्टि गरेको छ। हिरासतमा रहेका व्यक्तिको आधारभूत मानवअधिकार संरक्षण भए–नभएको विषयमा अनुसन्धान गरिने आयोगले जनाएको छ।

विमानस्थलभित्रैबाट पक्राउ, त्यसपछि आँखामा पट्टी

इनमका अनुसार उनी गत असोज १४ गते भारतको नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचस्थलमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

उनका दुईवटा मोबाइल फोन खोसिए। त्यसपछि विमानस्थलबाट बाहिर निकालेर गाडीमा राखियो र आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थानमा लगियो।

असोज १५ गते साँझसम्म आफूलाई कहाँ राखिएको थियो भन्ने जानकारीसमेत नदिइएको इनमको दाबी छ। पक्राउको कारण सोध्दा जवाफ नदिइएको र परिवारलाई जानकारी गराइदिन गरेको आग्रह पनि नसुनिएको उनले निवेदनमा उल्लेख गरेका छन्।

‘यी व्यक्तिविरुद्ध बोल, अनि छाडिदिन्छौँ’

अज्ञात स्थानमा राखेर प्रहरीले राजनीतिक, न्यायिक तथा व्यावसायिक क्षेत्रका विभिन्न व्यक्तिबारे सोधपुछ गरेको इनमले बताएका छन्।

उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता एवं व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण तथा बयान दिन दबाब दिइएको आरोप लगाएका छन्।

ती व्यक्तिविरुद्ध बयान दिए आफूलाई छाड्ने प्रस्ताव गरिएको उनको दाबी छ। नमाने आफूलाई लामो समय जेलमा राख्ने र परिवारलाई समेत अप्ठ्यारो पार्ने धम्की दिइएको उनले बताएका छन्।

केही व्यक्ति आफ्ना परिचित तथा शिक्षकसमेत रहेको र केहीलाई आफूले चिन्दै नचिनेको इनमले निवेदनमा उल्लेख गरेका छन्। जानकारी र प्रमाणबिना कसैविरुद्ध बोल्न नसक्ने बताएपछि पनि पटक–पटक त्यही विषयमा दबाब दिइएको उनको भनाइ छ।

एउटा आँखाको पट्टी खोलेर पढ्न लगाइएको दाबी

इनमले अरूविरुद्ध बयान दिन अस्वीकार गरेपछि प्रहरीले पहिले नै तयार पारेको सामग्री पढ्न लगाएको आरोप लगाएका छन्।

‘धेरै बोल्नुपर्दैन, हामीले लेखेको पढ्नुस्’ भन्दै एउटा आँखाको पट्टी माथि सारेर ठूलो स्वरमा र बिस्तारै सामग्री पढ्न लगाइएको उनले निवेदनमा उल्लेख गरेका छन्।

सामग्री पढिसकेपछि तयार गरिएको कागजमा हस्ताक्षर गर्न लगाइएको तर आफूलाई जानकारी नभएका विषयसमेत लेखिएकाले हस्ताक्षर गर्न नमानेको उनको दाबी छ।

त्यसपछि फेरि आँखामा पट्टी र त्यसमाथि चस्मा लगाएर अर्को स्थानमा लगिएको उनले बताएका छन्। गाडीबाट ओराल्दा पट्टी खोलिएपछि मात्रै आफूलाई काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको थाहा पाएको उनको भनाइ छ।

बाहिरिएको अडिओ प्रहरीकै ‘स्क्रिप्ट’ भएको दाबी

पछिल्लो समय नेपाली कांग्रेसको आधिकारिकता विवाद र सर्वोच्च अदालतका न्यायाधीशसँगको कथित मिलेमतोसम्बन्धी सार्वजनिक भएका अडिओ आफूलाई प्रहरीले पढ्न लगाएकै सामग्रीबाट तयार पारिएको इनमको आरोप छ।

पक्राउ परेको दिन आफूले पढेको सामग्री गोप्य रूपमा रेकर्ड गरिएको र त्यसलाई काटछाँट गरेर सार्वजनिक गरिएको हुनसक्ने उनले बताएका छन्।

प्रहरीले पछि उक्त अडिओ सुनाउँदै आवाज आफ्नो भए–नभएको विषयमा बयान लिएको पनि उनले उल्लेख गरेका छन्। आवाज आफ्नोजस्तो सुनिए पनि अडिओमा आएका कुरा आफूलाई स्मरण नभएको विवरण बयानमा समावेश गरिएको उनको भनाइ छ।

यातना र दबाबबाट तयार भएको सामग्रीलाई प्रमाणका रूपमा प्रयोग गरी आफू तथा अन्य व्यक्तिविरुद्ध मुद्दा चलाउन खोजिएको आशंका उनले गरेका छन्।

मोबाइल दुई दिनसम्म कसको हातमा थियो?

पक्राउका बेला खोसिएका आफ्ना मोबाइल फोन दुई दिनसम्म अनधिकृत व्यक्तिलाई दिइएको आरोप पनि इनमले लगाएका छन्।

आफू प्रहरी नियन्त्रणमै रहेका बेला मोबाइलमा छेडखानी गरी हुँदै नभएका प्रमाण सिर्जना गरिएको हुनसक्ने उनको आशंका छ। एआईबाट तयार गरिएका कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत गर्न खोजिएको जानकारी आफन्त र कानुन व्यवसायीबाट पाएको उनले बताएका छन्।

उनले मोबाइल तथा त्यसबाट प्राप्त भनिएका सामग्रीको स्वतन्त्र प्राविधिक परीक्षण गर्न माग गरेका छन्।

विमानस्थलमा रहेको सुटकेसको पैसा घरबाट बरामद देखाएको आरोप

इनमले आफ्नो घरमा गरिएको खानतलासी र बरामदी मुचुल्कामाथि पनि प्रश्न उठाएका छन्।

नयाँदिल्ली लैजान तयार पारिएका सुटकेस विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। तर सुटकेसभित्र रहेको विदेशी मुद्रा घरबाट बरामद भएको विवरण तयार पारिएको उनको आरोप छ।

उनका अनुसार साथमा एक हजार ३०० अमेरिकी डलर र केही भारतीय रुपैयाँ थियो। उक्त रकम प्रचलित कानुनी व्यवस्थाअनुसार साथमा राख्न मिल्ने उनका कानुन व्यवसायीको जिकिर छ।

विमानस्थलबाट खोसिएको आइफोनसमेत घरबाट बरामद भएको देखाउन खोजिएपछि आफन्तले प्रश्न उठाएको इनमले बताएका छन्।

पक्राउको विवरणमै फरक दाबी

प्रहरीले इनमलाई विमानस्थलबाहिरको सार्वजनिक सडकमा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको विवरण प्रस्तुत गरेको उनको भनाइ छ।

इनमले भने आफूलाई विमानस्थलको अन्तिम सुरक्षा जाँचस्थलबाट पक्राउ गरिएको दाबी गरेका छन्। उनले त्यस दिनको सीसीटीभी फुटेज, बोर्डिङ पास तथा विमानस्थलका अभिलेख झिकाएर जाँच गर्न माग गरेका छन्।

अभद्र व्यवहारको आरोप अस्वीकार गरेपछि विदेशी मुद्रा र त्यसपछि सम्पत्ति शुद्धीकरणको विषय थप्दै आफूलाई निरन्तर हिरासतमा राख्न खोजिएको उनको आरोप छ।

‘फिक्सर’ भन्दै मिडिया ट्रायल गरिएको गुनासो

आफूमाथिको आरोप प्रमाणित नहुँदै ‘बिचौलिया’ र ‘फिक्सर’जस्ता शब्द प्रयोग गरी दोषीसरह प्रस्तुत गरिएको इनमको गुनासो छ।

अनुसन्धानका सामग्री बाहिर चुहाउने, झुटा प्रमाण सिर्जना गर्ने र ती सामग्रीका आधारमा आफ्नो चरित्रहत्या गर्ने कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्न उनले मानवअधिकार आयोगसँग माग गरेका छन्।

इनमले आफू र परिवारको जीवन रक्षा गर्न, हिरासतमा भएको भनिएको व्यवहारबारे छानबिन गर्न तथा संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि सिफारिस गर्न आयोगलाई आग्रह गरेका छन्।

इनमले लगाएका यी गम्भीर आरोपबारे प्रहरीको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। निवेदनमा उल्लेख गरिएका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।

सम्बन्धित समाचार

तुइनखोलामा पहिरो रोकथामका लागि नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरो रोकथामको काम सुरु हुने भएपछि सडकमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गतेदेखि अर्…

हेटौँडा कपडा उद्योगका २० लुम चल्न थाले, पुराना मेसिन आधुनिक बनाउने सम्भावना खोजिँदै

लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका २० वटा लुमबाट परीक्षण उत्पादन सुरु भएको छ। उद्योगमा रहेका पुराना मेसिनलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन गर्न सकिने सम्भाव…

बसन्त भण्डारी

English

Sonam Lhosar: Festival of Tamang

Different types of cultural festivals are celebrated in Nepal. Lhosar is one of them, and it is the new year of the Sherpa, Tamang, Gurung, Dura, Lepcha and Bhote communities. Ther…

Info Nepal

विश्वभर वार्षिक १ करोड २० लाख बालिकाको बालविवाह

मकवानपुर । विश्वभर हरेक वर्ष करिब १ करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी…