सोलुखुम्बु | सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल, लुक्लामा आज एकैदिन १८४ वटा उडान भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण, लुक्लाका अनुसार हेलिकप्टर र जहाजबाट आज १८४ उडान सम्पन्न भएका हुन्।
प्राधिकरणका प्रमुख उमेश पन्थीले बताएअनुसार मौसम खुलेसँगै आज हेलिकप्टरले १५२ तथा जहाजले २३ उडान गरेका छन्। जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२/१२ तथा सीता एयरलाइन्सले ८ उडान भरेका छन्।
आज हवाई सेवामार्फत ३९६ विदेशी र १३६ नेपाली गरी कुल ५३२ जना पर्यटक लुक्ला पुगेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले सो जानकारी दिए।
उक्त दिनमा ३३६ विदेशी र १२६ नेपाली गरी कुल ४६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन्।
प्रहरी तथ्यांकअनुसार नाम्चेबाट आज ४७५ जना विदेशी पर्यटक उकालो लागेका छन् भने ३०३ जना विदेशी फर्किएका छन्। चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दै गएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे, सोलुखुम्बुले जानकारी दिएअनुसार मंसिर महिनाको मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिने र बाहिरिने पर्यटकहरूको सङ्ख्या समान देखिएको छ।