देशभोली सार्बजनिक बिदा

भोली सार्बजनिक बिदा

काठमाडौं- पुस १५ गते शुक्रबार सार्बजनिक बिदा हुने भएको छ ।

सरकारले तमु ल्होसारको अबसरमा सार्बजनिक बिदा दिने भएको हो ।

के हो तमु ल्होसार, कसरी मनाइन्छ ?

जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचीन पौणारिक जाति र संस्कृतिका धनी, तमु (गुरुङ) को आफ्नै रीतिरिवाज, चाड पर्व छन्। उनीहरुका आफ्नै विशिष्ट परम्परा र संस्कृति छ। तमुको पुर्खौली धर्म, बोन धर्मानुसार जस अन्तर्गत, तमुहरूको मुल चाड पर्वहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (वैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।

ल्होसार भनेको नयाँ वर्ष हो। यो पुस महिनाको १५ गते पर्छ। तमु जातिमा पच्यु सबैभन्दा पुरानो पुरोहित मानिन्छ। सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्री चन्पोको सातौं पुस्ता) को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भयो। ड्रिगमको हत्यारा (लोङम डाजी) को बदला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासु क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्य रूपले निम्ताएको थियो।

पछि सम्थव ङोन्पो नामक वोन्पो विनले बौद्ध दर्शनभन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताको रूप दिए, जसलाई क्यार वोन भनियो। त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरियो। त्यस प्राचीन पात्रोअनुसार ल्होसार वर्षको दिन पुस १५ मा मनाइन्छ, जुन नेपालको तमु जातिमा अद्यावधि प्रचलित छ र त्यही दिनतिर तिब्बतको सिगाचेका ठाउँहरूमा पनि मनाइँदैछ।

तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत् सुरु भएको सङ्केत गर्दछ। प्राचीन तमु प्यो शास्त्रअनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पत्ति भएको मानिन्छ। ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाँचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।

ल्होसारको दिन गुरूङ जातिहरु आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन्। अन्य जातले जस्तै गुरूङ जातिहरुको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरुमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित कौडा नाँच नाँचेर आफ्ना परिवार, साथीभाइसँग रमाइलो गर्छन्। गुरूङ जातिहरुको महान् चाड भएकाले प्रधानमन्त्री लगायतका राष्ट्रिय व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदान प्रदान गरिन्छ।

तमु पात्रोमा १२ वटा वर्ग हुन्छन्। वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शास्त्रअनुसार थाहा पाउन सकिन्छ।

तमु जातिका १२ वर्ग

  • मुसा वर्ग (च्यु–ल्हो)
  • गाई वर्ग (ल्वोँ–ल्हो)
  • बाघ वर्ग (तो–ल्हो)
  • बिरालो वर्ग (हि–ल्हो)
  • गिद्द वर्ग (मुप्री–ल्हो)
  • सर्प वर्ग (सप्री–ल्हो)
  • घोडा वर्ग (त–ल्हो)
  • भेंडा वर्ग (ल्हु–ल्हो)
  • बाँदर वर्ग (प्र–ल्हो)
  • चरा वर्ग (च्हया–ल्हो)
  • कुकुर वर्ग (खि–ल्हो)
  • मृग वर्ग (फो–ल्हो)

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img