हेटौँडा | हेटौँडा–५, पिप्लेकी नौ वर्षीया बालिकाको उपचारमा लापरबाही भएको आरोपपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले हेटौँडा अस्पतालमाथि छानबिन थालेको छ। डा. नवीन दर्नालको संयोजकत्वमा बनेको समिति बिहीबारदेखि तथ्य संकलनमा जुटेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरी बिहीबारबाट काम सुरु गरेको हो ।
असार ९ गते पेट दुखेपछि सामना हेटौँडा अस्पताल पुगेकी थिइन्। तर पाँच दिनसम्म रोग पत्ता नलागी अवस्था जटिल भएपछि काठमाडौंको कान्ति बाल अस्पताल लगिएको थियो। त्यहाँ परीक्षणमा एपेन्डिक्स फुटेर संक्रमण फैलिएको पुष्टि भयो।
परिवारले रोग पहिचानमा ढिलाइ र समयमै उपचार नपाउनु चिकित्सकीय लापरबाही भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन्।
डा. नवीन दर्नालको संयोजकत्वमा बनेको छानबिन टोलीले अस्पतालको उपचार अभिलेख संकलन र चिकित्सकसँग सोधपुछ गरिसकेको छ। टोलीलाई १० दिनभित्र प्रतिवेदन बुझाउने निर्देशन दिइएको मन्त्रालयका शाखा अधिकृत खेमराज भट्टराईले जानकारी दिए।
स्वास्थ्य सेवा ऐन, नेपाल मेडिकल काउन्सिल र मुलुकी अपराध संहिता अनुसार दोषी प्रमाणित भए चेतावनीदेखि लाइसेन्स खारेज, फौजदारी मुद्दा र क्षतिपूर्ति मागसम्मका कारबाही गर्न सकिने व्यवस्था छ।



