खेल समाचारमकवानपुरको बागमतीलाई राखेपको राष्ट्रिय सम्मान

मकवानपुरको बागमतीलाई राखेपको राष्ट्रिय सम्मान

हेटौँडा । नेपालमा प्रायः खेलकुदको विकास भन्नेबित्तिकै काठमाडौं वा प्रदेशका ठूला शहरको चर्चा हुन्छ । तर मकवानपुरको एक गाउँपालिकाले भने आफ्नै लगानी, जनश्रमदान र दुरदर्शी योजनाबाट देशभरका खेलप्रेमीलाई चकित पार्दै खेलकुद क्षेत्रमा असाधारण उदाहरण प्रस्तुत गरेको छ । यही कारण, राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो ६२ औं वार्षिकोत्सवमा मकवानपुरको बागमती गाउँपालिकालाई ‘देशकै उत्कृष्ठ स्थानीय तह’ को रुपमा सम्मानित गर्‍यो ।

बागमती गाउँपालिकाले खेलकुदलाई “लक्जरी होइन, जीवन–परिवर्तन गर्ने अवसर” का रूपमा बुझेर अघि बढाएको छ । कमजोर आर्थिक पृष्ठभूमि भएका तर असाधारण क्षमता बोकेका खेलाडीलाई पढाइसँगै प्रशिक्षण दिने उद्देश्यले पालिकाले फुटबल एकेडेमी सञ्चालनको अन्तिम तयारी गरेको छ । त्यही एकेडेमीमार्फत गाउँपालिकाले भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभिप्राय राखेको छ ।

यसअघि पालिकाले श्रमदानमार्फत खेलमैदान निर्माण गरेको थियो भने नेपालकै सर्वाधिक पुरस्कार राशी रहेको गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेर राष्ट्रिय स्तरमै परिचित भइसकेको छ । यही निरन्तरता, लगानी र दृष्टिकोणकै कारण राखेपले यसपालि बागमती गाउँपालिकालाई सम्मान गरेको हो ।

काठमाडौंमा आयोजित समारोहमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, खेलकुद समितिका अध्यक्ष रहर सिंह थिङ र निवर्तमान अध्यक्ष अरुण बललाई सम्मानपत्र प्रदान गरे ।

राखेपले प्रत्येक वर्ष खेलकुदमा लगानी, पूर्वाधार निर्माण, प्रतियोगिता आयोजना र खेलाडी उत्पादनजस्ता सूचकाङ्कमा आधारित भएर एक स्थानीय तहलाई छनोट गर्दै आएको छ । यसपालि बागमती गाउँपालिकाले फुटबल रंगशाला निर्माणदेखि गोल्डकप सञ्चालन र एकेडेमी स्थापनाको पहलमार्फत देशकै ध्यान खिच्न सफल भएको छ ।

समारोहमा राखेपले पाँच खेलाडीसहित विभिन्न १८ विधामा सम्मान गरेको थियो ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img