राजनीतिविभाजनपछि पहिलोपटक ओली, प्रचण्ड र माधव नेपाल आज एकै मञ्चमा

विभाजनपछि पहिलोपटक ओली, प्रचण्ड र माधव नेपाल आज एकै मञ्चमा

काठमाडौं । आज (शुक्रबार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिने भएका छन् ।

आज नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र दिउँसो एक बजे भृकुटीमण्डपमा हुने छ । उक्त उद्घाटन सत्रमा महिनौदेखि भेटघाट नगरेका प्रमुख तीन कम्युनिष्ट पार्टीका अध्यक्षत्रय एउटै मञ्चमा देखिने भएका हुन् ।

१४औं महाधिवेशनमा सहभागीका लागि कांग्रेसले स्वदेश तथा विदेशका प्रमुख राजनीतिक दललाई निम्ता दिएको छ । कांग्रेसको महाधिवेशनको उद्घाटन मञ्चले पार्टी फुटेपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका तीन ठूला कम्युनिष्ट पार्टीका प्रमुख नेतालाई आमुन्ने–सामुन्ने बनाउने भएको हो ।

तत्कालिन नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिष्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला हुन लागेका हुन् ।ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली–नेपाल पनि भेट छैन । नेकपा विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी अध्यक्ष ओली कांग्रेस महाधिवेशनमा सहभागी हुने जानकारी दिए । ‘महाधिवेशनको निमन्त्रणा आएको छ, पार्टी अध्यक्षज्यु शुभकामना दिने कार्यक्रमका लागि सहभागी हुने तयारीमै हुनुहुन्छ,’ तामाङले भने ।

माओवादी केन्द्र र एकीकृत समाजवादी सत्तागठबन्धनमै रहेकाले दुवै पार्टीका प्रमुख नेता महाधिवेशनमा सहभागी हुने तयारीमै छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले महाधिवेशनमा शुभकामना दिने कार्यक्रममा अध्यक्ष सहभागी हुने बताए । ‘कांग्रेसको महाधिवेशनमा सहभागी भएर धेरैपटक उहाँले शुभकामना दिनुभएको छ, गिरिजाबाबु सभापति बनेयताका सबै महाधिवेशनमा उहाँ सहभागी हुनुभएको छ,’ गौतमले भने, ‘त्यसैले यसपटक पनि उहाँ सहभागी हुनुहुन्छ ।’

नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको छ  । उनीहरूबीच संवाद टुटेको लामै समय मात्रै भएको छैन, देशव्यापी तिक्तता बढिरहेको छ  । तीनै दल आपसमा कार्यकर्ता तान्ने होडबाजीमा छन् । नेताहरूले विभिन्न मञ्चबाट आपसी घोचेपेच र जुहारी जारी राखेका छन् ।

यस्तो पृष्ठभूमिमा एउटै मञ्चमा आमुन्ने-सामुन्ने हुन लागेका नेताले कस्तो सम्बोधन गर्लान् ? सबैको चासोको विषय बनेको छ । महाधिवेशन कांग्रेसको भइरहेको भए पनि यतिबेला चर्चा ओली, प्रचण्ड र नेपालको भइरहेको छ । एक अर्काविरुद्ध कडा र चर्का कुरा गर्दै आएका यी तीन नेताले कांग्रेसको उद्धघाटनमा समेत त्यस्तै भाषण गर्ने अडकल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img