दाङ – तिहारमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत दाङको तुलसीपुर मेट्रो कलेजका विद्यार्थीले चार लाख रुपैयाँ बराबरको फूल बिक्री गरेका छन् ।
तिहारलाई लक्षित गरेर वन विज्ञान र कृषि विज्ञानमा अध्ययनरत विद्यार्थीले संयुक्तरूपमा फूल खेती गरेका थिए । विद्यालयको पाँच कट्ठा जग्गामा गरिएको खेतीबाट विद्यार्थीले चार लाख रुपैयाँ आम्दानी गरेका कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो ।
कलेज प्रमुख आचार्यले फूलबाट आशा गरेअनुसार आम्दानी भएको बताउँदै थप दुई लाख रुपैयाँको फूल बिक्रीका लागि तयारी भएको बताउनुभयाे ।
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत मखमली र सयपत्री फूलको खेती गरेका विद्यार्थीले किलोकाे छ सय र प्रतिमाला दुई सय ५० रुपैयाँसम्ममा बिक्री गरेका थिए ।