Wednesday, March 26, 2025
शिक्षालुम्बिनी र कर्णालीका विद्यार्थीका लागि पाठ्यपुस्तक नेपालगन्ज आइपुग्यो

लुम्बिनी र कर्णालीका विद्यार्थीका लागि पाठ्यपुस्तक नेपालगन्ज आइपुग्यो

नेपालगन्ज | नयाँ शैक्षिक सत्र २०८२ का लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छापेका पाठ्यपुस्तक नेपालगन्ज आइपुगेका छन्। लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा वितरण गर्नका लागि नेपालगन्जस्थित गोदाममा ती पुस्तकहरू भण्डारण गरिएका हुन्।

प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुंगेलका अनुसार प्राथमिकताका आधारमा हिमाली, पहाडी, र तराई जिल्लामा क्रमशः वितरण गरिनेछ। यसै क्रममा, पहिलो चरणमा कर्णालीको हुम्लाका लागि ४६ हजार ४८९ थान पुस्तक पठाइसकिएको छ।

“हुम्लाका तीनजना विक्रेताले आवश्यक पुस्तक लिइसकेका छन्। अब केही दिनभित्र डोल्पाका लागि पठाउँदै छौँ,” प्रमुख ढुंगेलले बताए। उनका अनुसार चैतको दोस्रो साताबाट तालिका बनाएर बाँकी जिल्लामा पुस्तक वितरण गरिनेछ।

नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट, सल्यान तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, दाङ, बर्दिया, बाँके गरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुने बताइएको छ।

गत वर्ष नेपालगन्ज कार्यालयमार्फत १० जिल्लामा १९ करोड ६० लाख रुपैयाँ बराबरका १४ लाख ४६ हजार १६ थान पुस्तक वितरण गरिएको थियो। यस वर्ष वितरण संख्या १६ लाख पुग्ने अनुमान गरिएको छ।

यस पटकदेखि कक्षा ३ का पुस्तकहरू पनि वितरण गरिने भएकाले माग अझै बढ्ने अपेक्षा गरिएको छ। केही वर्षअघि पुस्तक समयमा नपुग्ने समस्या भए पनि हाल शैक्षिकसत्र सुरु हुनुअघि नै गोदाममा पुस्तक आइसक्ने र विद्यार्थीले समयमा नै पाउने व्यवस्था मिलाइएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विराटनगर, पोखरा, भरतपुर, जनकपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी, र काठमाडौंका विक्री केन्द्रमार्फत देशभर पाठ्यपुस्तक वितरण गर्दै आएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img