हेटौँडा | तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीमा आधारित चलचित्र ‘ह्याङ तामाङ’ आगामी मङ्सिर २० गते हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियर शोमार्फत प्रदर्शन हुने भएको छ।
शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा निर्माण टोली तथा कलाकारहरूले चलचित्र प्रदर्शनको तयारी पूरा भएको जानकारी दिए। कार्यक्रममा बोल्दै चलचित्रका नायक सिताराम गोलेले ‘ह्याङ तामाङ’ तामाङ समुदायको रीतिरिवाज, भाषा, कला, संस्कृति तथा पछिल्ला वर्षमा समुदायले सामना गर्दै आएका राजनीतिक–सामाजिक वास्तविकतालाई गहिरोसँग समेटिएको बताए। उनका अनुसार चलचित्रले तामाङ समाजको आत्मा, पहिचान र भावनालाई सशक्त रूपमा चित्रण गर्छ।
अर्का नायक जय स्याङ्तानले चलचित्रको छायांकन काठमाडौं, मनाङसहितका विविध भौगोलिक र सांस्कृतिक क्षेत्रमा गरिएको जानकारी दिए। उनले विभिन्न स्थानको प्राकृतिक तथा सांस्कृतिक विविधताले चलचित्रलाई अझ प्रामाणिक र प्रभावशाली बनाएको बताए।
निर्माण पक्षका अनुसार चलचित्र निर्माणमा ३० देखि ३५ लाख रूपैयाँ खर्च गरिएको छ। चलचित्रमा अभि लामा, अनिता गोले, निर्मला मोक्तानलगायतका कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। तामाङ समुदायका ख्यातिप्राप्त कलाकारहरूको सहभागिताले चलचित्रले सांस्कृतिक गहिराइसँगै मनोरञ्जन र सामाजिक सन्देशलाई पनि स्पष्ट प्राथमिकता दिएको निर्माण टोलीले जनाएको छ।
चलचित्रको निर्देशन प्रबल लामा, सह–निर्देशन निमा लामाले गरेका हुन्। पत्रकार सम्मेलनमा कलाकार तथा निर्माण टोलीले हेटौंडाबाट प्रदर्शन शुरू गरी बागमती प्रदेशका अन्य जिल्लाहरूमा पनि क्रमिक रूपमा सार्वजनिक गर्दै लैजाने योजना प्रस्तुत गरे।
स्थानीय समुदाय, तामाङ संघ–संस्था तथा युवा कार्यकर्ताहरूले चलचित्रप्रति उत्साहजनक समर्थन व्यक्त गरेका छन्। मङ्सिर २० गते ओम्याक्स हलमा हुने प्रिमियरलाई लक्ष्य गर्दै निर्माण टोली अहिले प्रचार–प्रसारमा व्यस्त छ।
तामाङ संस्कृति, कला र मौलिक कथामा रुचि राख्ने दर्शकका लागि ‘ह्याङ तामाङ’ एक महत्वपूर्ण र स्मरणीय सिनेम्याटिक अनुभव हुने अपेक्षा निर्माण पक्षले व्यक्त गरेको छ।



