सिन्धुली | यहाँको बिपी राजमार्गमा पर्ने ‘सेल्फीडाँडा’ अब नयाँ नाम र स्वरुपमा चिनिन थालेको छ। ऐतिहासिक सिन्धुलीगढीको वीरता र स्मृतिलाई बोकेर यसलाई ‘गढीडाँडा’ का रूपमा विकास गरिएको हो।
कमलामाई नगरपालिका–२ मा पर्ने गढीडाँडा नेपाली सेनाको प्राविधिक सहयोगमा र नगरपालिकाको आठ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको हो। भित्तेचित्र, वीरताको सालिक र ऐतिहासिक कथाहरू उतारेर यो स्थानलाई नयाँ स्वरुप दिइएको हो।
सिन्धुलीगढीमा पहिलोपटक अङ्ग्रेज साम्राज्य नेपाली गोर्खालीसँग पराजित भएको थियो। त्यही गौरवलाई सम्झाउने उद्देश्यले सेल्फीडाँडालाई ऐतिहासिक कथा झल्किने बनाइएको हो।
गढीडाँडाको भित्तेमा गढी युद्धका दृश्य, गोर्खाली सैनिकको सालिक र भद्रकाली मन्दिर जस्ता प्रतीक उतारिएका छन्। यही डाँडाबाट वरपरका डाँडाकाँडा, हरियाली र सुन्दर सिन्धुलीको दृश्यले जो कोहीलाई मोहित बनाउँछ।
‘अब यहाँ रोकिनेहरु सेल्फी मात्र खिचेर नजाने, इतिहास पनि बोकेर जानेछन्,’ अवलोकनकर्ता रवीन्द्र महर्जनले भने।
गढीडाँडामा दैनिक सयौं यात्रुहरू रोकिन्छन्। हरियाली हेर्छन्, भित्तेचित्र नियाल्छन् र सेल्फी खिच्छन्। यहाँ उत्पादित जुनार, सुन्तला र अन्य फलफूलका जुस तथा खाजाको स्वाद पनि लिइन्छ।
स्थानीय व्यवसायी सुनिता थापामगर भन्छिन्, ‘पहिलेभन्दा दोब्बर गाडी रोकिन्छन्। इतिहास र सिन्धुलीबारे सोध्छन्। यहाँको चिया र जुसको बिक्री पनि बढेको छ।’
श्री नं. ९ बाहिनी अड्डाका वाहिनीपति सहायक रथी युवराज कार्कीका अनुसार यो संरचनाले भावी पुस्तालाई वीरताको इतिहास सिकाउने काम गर्नेछ। सिन्धुलीगढी संरक्षणमा सेनाले लामो समयदेखि भूमिका खेल्दै आएको उनले बताए।
‘यो केवल पर्यटकीय होइन, चेतना जगाउने स्थल हो,’ उनले भने। ‘अब थप संरचना बनाएर दीर्घकालीन योजनासहित गढी क्षेत्रलाई राष्ट्रिय गन्तव्य बनाउँछौं।’
कमलामाई नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले भने, ‘गढीडाँडा सिन्धुलीगढीको गौरव बोकेको स्मृतिको जीवन्त प्रतीक बनेको छ। सेनाको सहयोग र स्थानीय सरकारले देखाएको जिम्मेवारी प्रशंसनीय छ।’
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गढीडाँडाले इतिहास पुस्तान्तरणसँगै पर्यटन र आर्थिक गतिविधिमा समेत योगदान दिने बताए।
कमलामाई नगरपालिकाको लगानीमा बनेको गढीडाँडालाई ‘हाइवे हेरिटेज स्पट’ का रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले जानकारी दिए।
अब यहाँ आउनेले इतिहास बुझ्ने, नेपाली वीरताको अनुभूति गर्ने र रमणीय दृश्य अवलोकन गर्ने अवसर पाउने छन्। सिन्धुलीगढी जान नसक्नेले यहाँबाटै संक्षेपमा त्यहाँको कथा बुझ्नेछन्।
गढीडाँडाले सिन्धुलीगढीको सुगन्ध फैलाउँदै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।



