राजनीतिबालेनको चाहना ओलीसँग चुनाव लड्ने

बालेनको चाहना ओलीसँग चुनाव लड्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रमुख चाहना नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धा गर्ने रहेको खुलेको छ। फागुन २१ को निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको ६ घन्टे गोप्य भेटमा यही विषयले विशेष अर्थ राखेको राजनीतिक वृत्तको बुझाइ छ।

रवि लामिछाने र बालेन शाहलाई एक ठाउँमा ल्याउने प्रयास लामो समयदेखि हुँदै आएको थियो। जेनजी अभियानसँग जोडिएका विभिन्न अभियन्ता तथा ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले समेत दुवै नेताबीच सहकार्यको वातावरण बनाउन भूमिका खेलेका थिए। लामिछाने थुनामा रहेका बेला समेत बालेनसँग मिलेर अघि बढ्न सुझाव दिइएको स्रोतको दाबी छ।

रास्वपाले वैकल्पिक राजनीतिका शक्तिसँग मिलेर अघि बढ्ने निर्णय गरिसकेको छ। उता, जेनजी आन्दोलनपछि बालेन शाहमा पनि राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने आकांक्षा बन्दै गएको देखिन्छ । यद्यपि उनी संसदीय राजनीतिमा जाने वा महानगरको कार्यकाल पूरा गर्ने भन्ने विषयमा अझै दोधारमै छन्।

यही पृष्ठभूमिमा सोमबार राति काठमाडौंको कमलपोखरीस्थित रास्वपाका पूर्वसांसद असिम शाहको निवासमा रवि र बालेनबीच करिब ६ घन्टासम्म लामो छलफल भएको हो। उक्त भेटमा राजनीतिक रणनीति, व्यक्तिगत बुझाइ र सम्भावित सहकार्यका विषयमा खुला संवाद भएको बताइएको छ।

छलफलमा सहभागी एक नेताका अनुसार बालेन शाहले झापा गएर एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनाव लड्ने इच्छा प्रस्ट रूपमा व्यक्त गरेका छन्। ‘ओलीलाई उनकै निर्वाचन क्षेत्रबाट नहराइकन चुनाव जितेको मज्जा हुँदैन भन्ने उहाँको भनाइ छ,’ ती नेताले इन्फोनेपालसँग भने।

बालेनको स्थायी ठेगाना काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ (सिनामंगल) भए पनि उनी झापाबाट चुनाव लड्ने विकल्पलाई गम्भीर रूपमा विचार गरिरहेका छन्। यद्यपि उनी कुन क्षेत्रबाट उम्मेदवारी दिने वा चुनाव लड्ने नै कि नलड्ने भन्ने विषय अझै टुंगोमा पुगेको छैन।

रास्वपा नेताहरूका अनुसार रवि लामिछाने बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावी मैदानमा जान सकारात्मक देखिएका छन्। कास्की जिल्ला अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण लामिछाने स्वयं कार्यकारी पदमा जान नसक्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो रणनीति अगाडि सारिएको बताइन्छ।

उता, बालेन पक्ष भने लामिछानेले मुद्दा जितेको अवस्थामा उनको नेतृत्व स्वीकार गर्न तयार रहेको बताउँछ। तर अहिलेको चरणमा दुवै पक्ष ‘एकअर्कालाई बुझ्ने’ प्रक्रियामै रहेको बताइएको छ।

यस भेटबारे सञ्चारकर्मीको प्रश्नमा रवि लामिछानेले पनि सहकार्यको विषयमा हतार नगर्न आग्रह गरेका छन्।
‘अहिले हामी त्यो चरणमा छैनौं। पहिला बुझ्नुपर्छ, कुरा गर्नुपर्छ,’ उनले भने, ‘बिस्तारै राजनीतिक चरणमा प्रवेश हुन्छ।’

राजनीतिक विश्लेषकहरूका अनुसार बालेन–रवि भेटले वैकल्पिक राजनीतिलाई नयाँ मोड दिन सक्ने संकेत देखिए पनि अन्तिम निर्णय आगामी छलफल र परिस्थितिले निर्धारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img