हेटौँडा | बागमती प्रदेशमा आयुर्वेद उपचार गराउने नागरिकको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ। बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका १३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट सेवा लिनेको संख्या वर्षेनी वृद्धि भइरहेको पाइएको हो।
मन्त्रालयका अनुसार अन्य स्वास्थ्य सेवाको तुलनामा आयुर्वेद चिकित्सालयमा ओपीडी सेवा लिने बिरामीको संख्या अझ तीव्र रूपमा बढेको छ। हाल प्रदेशका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूमा शल्य चिकित्सा सेवा, पञ्चकर्म, ज्येष्ठ नागरिक सेवा, योग, स्तनपायी सेवा, अकुपञ्चर, फिजियोथेरापी तथा प्रयोगशाला सेवा उपलब्ध छन्। यी सेवाबाट लाभ लिनेको संख्या निरन्तर बढ्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ।
एक वर्षमै १ लाख ६२ हजारभन्दा बढीले सेवा लिए
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका १३ जिल्लामा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट कुल १ लाख ६२ हजार २७२ जनाले आयुर्वेद उपचार सेवा लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो संख्या १ लाख ४९ हजार ५२५ रहेको थियो। यस आधारमा एक वर्षमै १२ हजार ७४७ जनाले बढी आयुर्वेद उपचार सेवा लिएको देखिन्छ।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा १ लाख १३ हजार १०५ जनाले मात्र आयुर्वेद उपचार सेवा लिएका थिए। तीन वर्षको तथ्यांक हेर्दा २०७९/८० को तुलनामा २०८०/८१ मा ३६ हजार ४२० जना बढीले सेवा लिएको देखिन्छ भने २०८०/८१ को तुलनामा २०८१/८२ मा पनि सेवा लिनेको संख्या थप बढेको स्पष्ट हुन्छ।
नागरिकको चासो बढ्दै, सेवा विस्तारमा पहल
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरकी प्रमुख शृष्टि श्रेष्ठका अनुसार वर्षेनी आयुर्वेद सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको तथ्यांक कार्यालयसँग उपलब्ध छ। उहाँका अनुसार नागरिकको बढ्दो चासोलाई मध्यनजर गर्दै आयुर्वेद सेवालाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार स्वयं सक्रिय रूपमा लागेको छ।
“कार्यालयले प्रवद्र्धनात्मक र विस्तारात्मक दुवै तरिकाबाट सेवा विस्तारमा पहल गरिरहेको छ,” उहाँले भन्नुभयो, “हामीकहाँ हाडजोर्नीसम्बन्धी समस्या, नसाच्यापिएको, अम्लपित्त तथा बाथ रोगका बिरामीहरू बढी आउने गरेका छन्।”
संघीय सरकारको अवधारणाअनुसार हाल प्रत्येक पालिकामा कम्तीमा एउटा आयुर्वेद सेवा केन्द्र स्थापना गरिएको र आयुर्वेदको पहुँच नपुगेका स्थानीय तहहरूमा समेत यस वर्षदेखि सेवा विस्तार गरिने उहाँले जानकारी दिनुभयो।
सेवाग्राहीको अनुभव: ‘ढिला भए पनि सुरक्षित’
सेवाग्राहीहरूका अनुसार आयुर्वेद औषधि प्रयोग गर्न थालेपछि मात्र यसको वास्तविक महत्व बुझ्दै गएको बताएका छन्। आयुर्वेद उपचारले अपेक्षाकृत ढिला काम गरे पनि शरीरमा कुनै साइड इफेक्ट नहुने भएकाले आफूहरू निर्धक्क भएर उपचार गराइरहेको उनीहरूको भनाइ छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरमा पायल्सको शल्यक्रिया पश्चात् आयुर्वेद औषधिबाट उपचार गराएकी हेटौँडा–८ निवासी सुधा ढुंगानाले आयुर्वेद सेवा निकै फलदायी रहेको बताउनुभयो।
“प्राकृतिक पद्धतिबाट उपचार हुने भएकाले मानसिक र शारीरिक स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव परेको छ,” उहाँले भन्नुभयो, “आयुर्वेद औषधिले अस्पतालको औषधिभन्दा ढिला काम गर्छ, तर कुनै साइड इफेक्ट नहुने हुँदा ढुक्कसँग आयुर्वेद अस्पताल नै रोजेकी हुँ।”
जिल्लागत तथ्यांक: काठमाडौँ अग्रस्थानमा
गत आर्थिक वर्ष २०८१/८२ मा आयुर्वेद उपचार सेवा लिनेमा काठमाडौँ जिल्ला अग्रस्थानमा रहेको छ। मन्त्रालयका अनुसार काठमाडौँमा ५० हजार ४२२ जनाले आयुर्वेद उपचार सेवा लिएका छन्। सबैभन्दा कम भने दोलखामा ३ हजार ८४२ जनाले सेवा लिएको तथ्यांक छ।
यद्यपि, विगत वर्षहरूको तुलनामा काठमाडौँमा आयुर्वेद सेवा लिनेको संख्या केही घटेको देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँमा ५२ हजार ४८४ जनाले सेवा लिएका थिए भने २०७९/८० मा २८ हजार ८४० जनाले मात्र ओपीडी सेवा लिएका थिए।
चितवनमा भने आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढ्दो क्रममा रहेको छ। गत आर्थिक वर्षमा चितवनमा १५ हजार २६४ जनाले सेवा लिएका छन्, जुन अघिल्लो वर्ष १२ हजार ८२३ र २०७९/८० मा ७ हजार २१५ थियो।
त्यसैगरी भक्तपुरमा २०८१/८२ मा १४ हजार ५६८, ललितपुरमा ६ हजार ८, मकवानपुरमा १४ हजार ३३४, काभ्रेमा १३ हजार १३५, सिन्धुपाल्चोकमा ८ हजार ७९३, सिन्धुलीमा ९ हजार ७०, नुवाकोटमा ९ हजार २८ र रामेछापमा ८ हजार ८४६ जनाले आयुर्वेद उपचार सेवा लिएका छन्।
रसुवामा समेत आयुर्वेद उपचार सेवा लिनेको संख्या दोब्बरभन्दा बढीले बढेको छ। २०८१/८२ मा रसुवामा ४ हजार ४८१ जनाले सेवा लिएका छन्, जुन २०८०/८१ मा २ हजार १९३ र २०७९/८० मा २ हजार १८८ मात्रै थियो।
१३ अस्पताल, २ जिल्लामा २५ शैया
प्रदेशका स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशमा रहेका १३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमध्ये चितवन र नुवाकोटमा २५/२५ शैयाको अस्पताल सञ्चालनमा छन्। बाँकी ११ जिल्लामा भने १६ शैयाको सुविधा सम्पन्न आयुर्वेद अस्पताल सञ्चालनमा रहेका छन्।



