चितवन | चितवनको राप्ती नगरपालिका–३, जितपुरस्थित शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ। वन समूहकै भवनमा आयोजित सभामा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले वन संरक्षणमा नेपाली समुदायको भूमिका अतुलनीय रहेको बताए। स्वच्छ हावा र शुद्ध पानीका लागि वन जोगाउनु अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, “यो वन तपाईंहरुकै हो। तपाईंहरूले जोगाउनुभयो भने वन जोगिन्छ, लापरवाही भयो भने वन नष्ट हुन्छ। त्यसैले सबै मिलेर संरक्षणमा जुट्न आवश्यक छ।”
उनले वन संरक्षणमा महिलाको सक्रिय सहभागिताले थप सहजता र प्रभावकारिता ल्याएको बताए।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत खगेन्द्रमली रेञ्ज पोस्टका रेञ्जर योगेश ढकालले वन क्षेत्र संरक्षण, पर्यटकीय पूर्वाधार विकास तथा निकुञ्ज सुरक्षाका विषयमा कार्ययोजनाका आधारमा सहयोग गरिरहेको बताए। साथै, सामुदायिक वन उपभोक्ता समूहलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
विशिष्ट अतिथि तथा राप्ती नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त वलीले मध्यवर्ती सामुदायिक वन क्षेत्रका स्थानीय नागरिकहरूले वन्यजन्तुका कारण विभिन्न समस्या भोग्नुपरेको गुनासो गरे। निकुञ्जसँग जोडिएको मध्यवर्ती उपभोक्ता समिति अझै गठन हुन नसकेको बताए।
उनले हात्ती, बँदेल लगायतका वन्यजन्तुबाट बेला–बेलामा दुःख पाउने गरेको बताए। साथै, राप्ती नदीमा मृतकको दाहसंस्कारमा लगाइएको बन्देजका कारण स्थानीयवासी थप समस्यामा परेको उनको भनाइ थियो।
शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव भरत अर्यालले आर्थिक वर्ष २०८१/८२ को कार्यप्रगति तथा आगामी योजना सभामा प्रस्तुत गरे। उनका अनुसार गत वर्ष २ हजार ५ सय वटा बिरुवा रोपण गरिएको छ। त्यस्तै, वन समूहको भवन परिसरमा धारा निर्माण, सिमेन्ट कुर्सी जडान तथा भवनको भित्तामा चित्र लेखन गरिएको प्रगति प्रतिवेदनमा उल्लेख छ। प्राङ्गारिक मल उत्पादनका लागि बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयमा प्रस्ताव पेश गरिएको जानकारी दिइयो।
कुल ५७.२० हेक्टर क्षेत्रफलमा फैलिएको यस वन उपभोक्ता समूहमा जितपुर, प्रतापपुर, पर्सौनी र पुरानो पर्सौनी गरी चार वटा टोल विकास संस्था आबद्ध छन्। समूहमा ३३२ उपभोक्ता घरधुरी तथा कुल १ हजार ८२५ जना उपभोक्ता रहेको सचिव अर्यालले जानकारी दिए।
कार्यक्रममा करिब १० लाख रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। वन समूहका कार्यवाहक अध्यक्ष चन्द्रकुमार राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिका–२ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती, सामाजिक अभियन्ता तथा पशु उद्धारकर्ता यामलाल भण्डारी, इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कपिल बानियाँलगायतको उपस्थिति रहेको थियो।



