हेटौँडा |बागमती प्रदेशमा रहेका ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि प्रदेशका १३ जिल्लाबाट ७ सय १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये केही चर्चित तथा ‘हेभिवेट’ नेताहरू भने उम्मेदवार बनेर चुनावी मैदानमा होमिए पनि आफ्नै मत आफूलाई हाल्न नपाउने अवस्थामा छन्।
आफैंलाई मतदान गर्न नपाउने चर्चित नेतामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि पर्छन्। चितवन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका लामिछानेको स्थायी ठेगाना काठमाडौं–६ रहेको छ भने उनी काठमाडौं क्षेत्र नम्बर–३ का मतदाता हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनदेखि चितवन–२ नछाडेका लामिछाने तेस्रो पटक यही क्षेत्रबाट उम्मेदवार बनेका हुन्।
रास्वपाकै अर्का चर्चित उम्मेदवार राजीव खत्री पनि आफ्नै मत आफैंलाई दिन पाउने छैनन्। भक्तपुर–२ बाट उम्मेदवार बनेका खत्रीको स्थायी ठेगाना काठमाडौं–३० कालोपुल, ज्ञानेश्वर रहेको छ र उनी काठमाडौं–४ का मतदाता हुन्। खत्रीले सुरुमा काठमाडौंमै चुनाव लड्ने चाहना राखे पनि पार्टी सभापति लामिछानेको निर्णयपछि उनलाई एमाले सचिव महेश बस्नेतसँग प्रतिस्पर्धा गर्न भक्तपुर–२ को टिकट दिइएको थियो।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल पनि आफू उम्मेदवार बनेको क्षेत्रमा मतदाता छैनन्। काठमाडौं–५ बाट कांग्रेसका उम्मेदवार बनेका पौडेलको स्थायी ठेगाना तनहुँको शुक्लागण्डकी नगरपालिका–८ हो भने उनी तनहुँ–२ का मतदाता हुन्। २०७४ सालमा तनहुँ–२ (१) बाट प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भएका पौडेलले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवारी दिँदै एमाले नेता ईश्वर पोखरेललाई ५ हजार मतान्तरले पराजित गरेका थिए। पुनः सोही क्षेत्रबाट उम्मेदवार बनेका उनी यस पटक पनि आफैंलाई मतदान गर्न पाउने छैनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्र पनि यही सूचीमा पर्छन्। काठमाडौं–१ बाट राप्रपाको तर्फबाट उम्मेदवार बनेका मिश्र ललितपुर महानगरपालिका–१८ का स्थायी बासिन्दा हुन् र ललितपुर क्षेत्र नम्बर–३ का मतदाता हुन्। राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले २०७४ र २०७९ दुवै निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवारी दिएका थिए। दुवै पटक कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएका मिश्र २०७४ मा ८ सय १९ मतान्तर र २०७९ मा १ सय २९ मतान्तरले पराजित भएका थिए। आफ्नै निर्वाचन क्षेत्र परिवर्तन गर्दै तेस्रो पटक काठमाडौं–१ बाट उम्मेदवारी दिएका मिश्रले यस निर्वाचनमा पनि आफ्नै मत आफूलाई हाल्न पाउने छैनन्।
निर्वाचन कानुनअनुसार मतदाताले स्थायी मतदाता नामावली रहेको निर्वाचन क्षेत्रमा मात्र मतदान गर्न पाउने व्यवस्था भएकाले उम्मेदवार बनेका भए पनि मतदाता नामावली फरक क्षेत्रमा रहेकाले यी नेताहरूले आफैंलाई मतदान गर्न नपाउने भएका हुन्।
मकवानपुरका यी उम्मेदवार, जसले आफैँलाई मतदान गर्न पाउने छैनन्
मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जनमतबाट निर्वाचित भएर संघीय सांसद बन्ने आकांक्षा राखेका ती उम्मेदवारहरूमध्ये ८ जना भने आफैँ उम्मेदवार बनेको क्षेत्रमा मतदान गर्न पाउने छैनन् ।
मतदाता नामावलीमा नाम दर्ता भएपनि आफ्नो स्थायी ठेगना फरक निर्वाचन क्षेत्रमा परेपछि ठूला दलका उम्मेदवारदेखि साना तथा नयाँ दलका उम्मेदवारले आफैँलाई मत दिन नपाउने भएका छन् । यसरी आफैलाई मत दिन नपाउनेमा नेपाली कांग्रेसबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ छिन् । उनी मकवानपुर क्षेत्र नम्बर २ की मतदाता हुन् ।
भीमफेदी गाउँपालिका–७ शान्तिपथ स्थायी ठेगना भएकी उनले यसपटक पनि आफैँ उम्मेदवार बनेको क्षेत्रमा मतदान गर्न पाउने छैनन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी यही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन्। यसअघि चार पटक प्रत्यक्षतर्फ पराजित भएकी डिना दुई पटक समानुपातिकतर्फ सांसद बनेकी थिइन् । उनी नेपाली कांग्रेसकी निवर्तमान सहमहामन्त्रीसमेत हुन्।
यस्तै नेकपा एमालेबाट मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाले पनि आफैँलाई मतदान गर्न पाउने छैनन्। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थायी ठेगना भएका राना मकवानपुर क्षेत्र नम्बर २ का मतदाता हुन् । २०७९ को निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समयमै तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार बनाएपछि रानाको टिकट खोसिएको थियो । यसपटक उम्मेदवार बनेका राना एमालेको केन्द्रीय सदस्य हुन् ।
मकवानपुर क्षेत्र नम्बर १ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेका तेजप्रसाद उप्रेती (रमेश) ले पनि आफैँलाई मतदान गर्न पाउँदैनन्। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ स्थायी ठेगना भएका उनी मकवानपुर–२ का मतदाता हुन् । उप्रेती जर्नादन शर्मा नेतृत्वको प्रलोपा पार्टीबाट उम्मेदवार बनेका हुन् ।
यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ की उम्मेदवार विद्या श्रेष्ठ पनि आफैलाई मतदान गर्नबाट वञ्चित हुने उम्मेदवारमध्ये एक हुन्। काठमाडौँ महानगरपालिका–२१ माकगल्ली घर भएकी श्रेष्ठ काठमाडौँ–९ की मतदाता हुन्। हेटौँडा सडक विस्तारको विरोधमा उत्रिएर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी छोडेकी उनी हाल श्रम संस्कृति पार्टीबाट उम्मेदवार बनेकी छन्।
श्रम संस्कृति पार्टीबाटै मकवानपुर–२ का उम्मेदवार युनेश लामा स्याङ्तान पनि आफैँलाई मतदान गर्न पाउँदैनन्। हेटौँडा उपमहानगरपालिका–१२ स्थायी ठेगना भएका उनी मकवानपुर–१ का मतदाता हुन् । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट मकवानपुर–१ मा उम्मेदवारी दर्ता गराएकी रञ्जना सुवाल भक्तपुर–१० स्थायी ठेगना भएकी हुन् । उनी भक्तपुर–१ की मतदाता भएकाले आफैँलाई मत दिन पाउँदिनन् । नेमकिपाबाटै मकवानपुर–२ का उम्मेदवार सरोज तामाङ पनि मतदान गर्न नपाउने सूचीमा छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ घर भएका तामाङ भक्तपुर–१ का मतदाता हुन्।
यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट मकवानपुर–२ का उम्मेदवार छविलाल वाइवाले पनि आफैँलाई मतदान गर्न पाउँदैनन् । हेटौँडा–१२ स्थायी ठेगना भएका उनी मकवानपुर–१ का मतदाता हुन्। बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले उम्मेदवारको ठेगना मतदाता नामावलीमा दर्ता भएको विवरणअनुसार नै उल्लेख गरिएको जानकारी दिए। ‘मतदाता नामावलीमा दर्ता भएको ठेगनाका आधारमा मतदान गर्ने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयले गरेको छ,’ उनले बताए । प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ३८ को उपदफा (१) मा कुनै गाउँपालिका वा नगरपालिकाको कुनै वडामा नाम दर्ता भएका मतदाताले सोही वडामा तोकिएको मतदान केन्द्रबाट मात्र मतदान गर्नुपर्ने कानुनी व्यवस्थो छ।
दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नम्बर १ अन्तर्गत बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाकाको वडा नम्बर १, २, ३ र ४ तथा हेटौँडा उपमहानगरपालिकाकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १, १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडा पर्दछन् । यस्तै मकवानपुर क्षेत्र नम्बर २ अन्तर्गत राक्सिराङ, कैलाश, इन्द्रसरोवर, थाहा नगरपालिका, मनहरी, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाकाको वडा नम्बर ५, ६, ७ र ८ तथा हेटौँडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडा पर्दछन् ।



