काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई (मधेश) फास्ट ट्र्याक निर्माणको काम करिब आधा पूरा भएको छ। नेपाली सेनाले जिम्मेवारी पाएको आठ वर्ष र निर्माण कार्य सुरु भएको साढे चार वर्षको अवधिमा आयोजनाको भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ।
नेपाल सरकारले २०७४ सालको वैशाखमा फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। त्यसपछि डीपीआर निर्माण, कन्सल्ट्यान्ट छनोट र ठेक्का प्रक्रिया पूरा गर्न करिब चार वर्ष लाग्यो। वास्तविक निर्माण कार्य भने २०७८ जेठ ३१ बाट सुरु भएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आयोजना तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ। हाल अधिकांश खण्डमा आधार संरचना निर्माण सम्पन्न भइसकेको र बाँकी काम तीव्र गतिमा अघि बढिरहेको उनले जानकारी दिए। सेनाले यो आयोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ।
फास्ट ट्र्याकमा कुल १०.९७९ किलोमिटर सुरुङ मार्ग निर्माण गर्नुपर्नेछ। जसमध्ये लेनडाँडाको १.६२६ किलोमिटर र धेद्रेको १.६९१ किलोमिटर सुरुङमा ब्रेकथ्रु भइसकेको छ। महादेवटार सुरुङमार्गको करिब ७० प्रतिशत काम पनि सम्पन्न भएको सेनाले जनाएको छ।
आयोजना अन्तर्गत निर्माण हुने ८९ पुलमध्ये १३ वटा पुलको निर्माण पूरा भइसकेको छ भने ८५ वटामा ठेक्का प्रक्रिया पूरा भई निर्माण कार्य सुरु भइसकेको छ। हाल पुल, सुरुङ र सडक संरचनाका काम एकसाथ अगाडि बढाइएका छन्।
करिब ७२.५ किलोमिटर लामो काठमाडौं–तराई फास्ट ट्र्याक सम्पन्न भएपछि राजधानी काठमाडौं र तराई–मधेशबीचको यात्रा समय हालको ६–७ घण्टाबाट घटेर करिब एक घण्टामा सीमित हुने अपेक्षा गरिएको छ। यसले यातायात सहज बनाउने मात्र नभई व्यापार, पर्यटन, उद्योग र समग्र आर्थिक गतिविधिमा दीर्घकालीन प्रभाव पार्ने सरकारको विश्वास छ।



