समाजएक वर्षमै तीन करोड ९१ लाख थान कण्डम आयात

एक वर्षमै तीन करोड ९१ लाख थान कण्डम आयात

काठमाडौं | नेपालले गत आर्थिक वर्ष ०८१–०८२ मा तीन करोड ९१ लाख ७१ हजार ८२८ थान पुरुष कण्डम आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार कण्डम आयातमा २४ करोड ९३ लाख ७५ हजार रुपैयाँ खर्चिएको देखिन्छ।

यौन स्वास्थ्य र जनसंख्या नियन्त्रणका हिसाबले कण्डमको प्रयोग सकारात्मक मानिए पनि, यसमा लाग्ने भन्सार महसुल भने अत्यन्तै न्यून रहेको छ। तथ्यांकअनुसार, यति ठूलो परिमाणमा कण्डम आयात हुँदा पनि सरकारले जम्मा नौ हजार रुपैयाँ मात्र भन्सार महसुल उठाएको छ।

कण्डमलाई यौन अधिकार, स्वास्थ्य र गर्भनिरोधका हिसाबले प्राथमिक वस्तु मानिएकाले सरकार यसमा न्यून भन्सार दर कायम गर्छ। तर यसको असरसरूप भन्सारबाट संकलन हुने राजस्व भने शून्यतर्फ झरिरहेको देखिन्छ।

भन्सार विभागका अनुसार, अघिल्लो आर्थिक वर्ष ०८०–०८१ मा पनि करिब यस्तै मात्रामा तीन करोड ९२ लाख ३२ हजार ८५० थान कण्डम आयात भएको थियो। त्यसबेला कण्डमको आयात मूल्य २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ रहेको थियो।

कण्डमको यस्तो उच्च आयात देशमा यौनजन्य रोग रोकथाम, एचआईभी नियन्त्रण, र असुरक्षित गर्भ रोकथामप्रतिको जनचेतनालाई समेत झल्काउने विज्ञहरू बताउँछन्। यौन स्वास्थ्यका अभियन्ताहरूका अनुसार नेपालमा सुरक्षित यौनसम्बन्धका लागि कण्डम प्रयोगमा वृद्धि हुनु सकारात्मक संकेत हो।

तर उनीहरू भन्छन् “,राजस्वभन्दा पनि जनस्वास्थ्य नै मुख्य हो, त्यसैले कण्डमजस्ता वस्तुमा कर कम हुनु उचित हो। तर त्यसको आपूर्ति र गुणस्तरमा भने ध्यान दिन जरुरी छ।”

हाल कण्डम बजारमार्फत मात्रै नभएर स्वास्थ्य संस्थाहरू र विभिन्न एनजिओमार्फत निःशुल्क वितरण समेत भइरहेको छ। साथै, अनलाइन स्टोरहरूबाट पनि सजिलै खरिद गर्न सकिने अवस्था छ।

जनस्वास्थ्यका दृष्टिले अत्यावश्यक मानिने कण्डमको उच्च आयातसँगै प्रयोगको यथार्थ चित्र भने अझै गहिरो अध्ययनको खाँचो देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img