हेटौँडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण पौडेलले समाजमा शान्ति र सुव्यवस्था कायम गर्न अपराध नहुन दिने रणनीतिलाई प्राथमिकतामा राखेर प्रदेश प्रहरी अघि बढेको बताउनुभएको छ ।
सोमबार हेटौँडा–११ थानाभर्याङस्थित प्रदेश प्रहरी कार्यालयमा सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै डीआईजी पौडेलले अपराध भएपछि अनुसन्धान गर्नु एक कुरा हो, तर अपराध नै हुन नदिन प्रहरी र समुदायबीचको साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँका अनुसार ट्राफिक व्यवस्थापनदेखि भिड नियन्त्रण, भिआइपी सुरक्षादेखि विपद् व्यवस्थापनसम्मका विषयमा प्रहरी सजग र सक्रिय छ।
शहरी क्षेत्रमा घटना भएपश्चात् १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्नुपर्ने व्यवस्था मिलाइएको जानकारी दिनुहुँदै उहाँले हेटौंडा बजारमा झोला तान्ने र यात्रुहरूलाई दुःख दिनेहरूलाई तुरुन्त नियन्त्रणमा लिन मातहत निकायलाई निर्देशन पनि दिनुभयो ।
डीआईजी पौडेलले ट्राफिक दुर्घटना न्यूनीकरणलाई पनि केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको हो । हरेक नागरिकको गुनासो सुन्ने र समाधान गर्ने प्रहरी प्रशासनको पहिलो जिम्मेवारी रहेको उहाँले बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का, ट्राफिक कार्यालयका प्रमुख बच्चुराम फुँयाल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगर, संस्थापक अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायतको सहभागिता रहेको थियो ।
हाल बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत उपत्यकाबाहेकका १० जिल्लामा ३५० प्रहरी इकाइ सञ्चालनमा छन् भने १२ वटा लोकमार्गको सुरक्षा जिम्मेवारी पनि यही कार्यालयको मातहतमा रहेको छ ।