हेटौँडा – मकवानपुरको हेटौँडामा ‘एक घर, एक फलफूल’ अभियान सुरु गरिएको छ । हेटौँडा-८ स्थित मनकामना टोल विकास संस्थाले वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि अनौठो पहल थालेको छ। संस्थाले “एक घर, एक फलफूल” नामक कार्यक्रम अन्तर्गत गत सोमबार टोलभित्रका ३ सय घरलाई एक-एक वटा फलफूलको बिरुवा वितरण गरेको छ।
जुन ५ मा मनाइएको विश्व वातावरण दिवसको अवसरमा घोषणा गरिएको यो कार्यक्रम असार २४ गतेदेखि कार्यान्वयनमा ल्याइएको संस्थाकी कोषाध्यक्ष देवकी खत्रीले जानकारी दिइन्। कार्यक्रमको मुख्य उद्देश्य वायु प्रदूषण कम गर्नुका साथै स्थानीय स्तरमा स्वस्थ र विषादीरहित फलफूल उत्पादन गर्नु रहेको उनले बताइन्।
उनले भनिन्, “हामी बजारबाट किन्ने फलफूलमा प्रयोग हुने विषादीको मात्रा चिन्ताजनक छ। यदि हरेक घरमा फलफूलका बोटहरू रोपियो भने, हामी स्वस्थ र ताजा फलफूल खान पाउनेछौं। यसले बजारमा विषादीयुक्त फलफूलको मागलाई पनि कम गर्नेछ र वातावरणमा हुने प्रदूषणलाई पनि केही कम गर्न सकिन्छ।”
यस कार्यक्रमका लागि मकवानपुरगढी गाउँपालिका र धादिङ डिभिजन वन कार्यालयले ९० आँप, ८० लिची र २० एभोकाडो गरि १ सय ९० वटा कलमी बिरुवा सहयोग गरेका छन्। त्यसैगरी, मकवानपुर डिभिजन वन कार्यालयले सय आँप, ५० कागती गरि १ सय ५० वटा कलमी बिरुवा प्रदान गरेको कोषाध्यक्ष खत्रीले जानकारी दिइन्।
यो कार्यक्रमले स्थानीय स्तरमा वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस्ता सामुदायिक पहलहरूले देशभर वातावरण संरक्षणको चेतना जगाउन मद्दत पुग्ने विश्वास गरिएको छ।