हेटौँडा | ग्रामिण क्षेत्रमा औपचारिक कार्यक्रम आयोजना गर्नु दुर्लभ मानिने परिवेशमा हेटौँडा उपमहानगरपालिका-१९ नम्बर वडाले नयाँ सन्देश दिएको छ। वडा कार्यालयबाट झण्डै १ घण्टाको दुरीमा रहेको ज्यामिरेको शेरशेर गाउँमा बालमैत्री वडा घोषणा गर्दै वडाले नगरलाई उदाहरणीय बनाउने प्रयास गरेको हो।
हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले शुक्रबार वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त, र स्थानीय शासनयुक्त वडा घोषणा गरिन्। अन्य वडाहरूको तुलनामा ग्रामिण भूभाग धेरै रहेको हेटौँडा-१९ ले बालमैत्री वडा घोषणा ग्रामिण क्षेत्रमा गर्नुलाई विशेष महत्वका रूपमा हेरिएको छ।
घोषणासँगै नगर प्रमुख लामाले ग्रामिण क्षेत्रमा कार्यक्रम गर्दै यहाँका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्न प्रयास गरिएको बताइन्। उनले घोषणा मात्र पर्याप्त नभएको भन्दै यसको कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने जिम्मेवारी रहेको धारणा व्यक्त गरिन्। बालमैत्री घोषणाले स्थानियलाई सचेत बनाएको र कार्यक्रममा भएको उत्साहजनक सहभागिताले यो महत्त्वपूर्ण कदम भएको उनले उल्लेख गरिन्।
बालमैत्री वडा घोषणा कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, उपमहानगरका प्रवक्ता सबिन न्यौपाने, विभिन्न वडाका अध्यक्षहरू, र सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
जनजाति बाहुल्य रहेको शेरशेर गाउँका लामा गुरुहरूले बाल विवाह र बालश्रमविरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन्। धार्मिक विधिबाट बालमैत्री घोषणा पछि लामा र पोन्बो समूहले अब कुनै पनि बाल विवाहको कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन्।
ध्यूमिग्य छोलिङ गुम्बाका दोर्जे लामाले पहिले गाउँका विवाह र पूजा कार्यक्रममा सहभागिता जनाइने गरिन्थ्यो तर अब बालमैत्री घोषणालाई सफल बनाउन बाल विवाह हुने कार्यक्रममा सहभागी नहुने सहमति भएको जानकारी दिए।
नगर प्रमुख लामाले ग्रामिण भेगको विकासका लागि सन्तुलित विकासको अवधारणा अघि सारिएको र ग्रामिण क्षेत्रमा काम गर्न चाहने योजनाहरुलाई उपमहानगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
हेटौँडा-१९ ले ग्रामिण भेगमै बालमैत्री घोषणा गर्दै उपमहानगरभित्र उदाहरणीय सन्देश दिएको छ। ग्रामिण क्षेत्रका चुनौतीबीच आयोजित यस कार्यक्रमले नगरकै विकास र सामाजिक सुधारमा नयाँ सम्भावनाको ढोका खोलेको छ।