हेटौँडा | डिजिटल युगमा पत्रकारिताको बदलिँदो स्वरूप, अनलाइन मिडियाको प्रभाव, आर्थिक संकट, नियमनको आवश्यकता, र पत्रकारिताको विश्वसनीयताबारे हेटौँडामा बहस सम्पन्न भएको छ। “डिजिटल सञ्चारमाध्यम: स्थापना, सञ्चालन र निरन्तरतामा नीति, नियत र नियतीमा आवश्यक संशोधन सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया” नामक उक्त विशेष छलफलमा संचार रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाईं, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, उपाध्यक्ष ध्रुव अधिकारी, साथै अनलाइन मिडिया सञ्चालकहरूको उपस्थितिमा गहन छलफल भएको थियो।
छलफलमा अनलाइन मिडिया हालको सबैभन्दा प्रभावशाली सञ्चारमाध्यम भए तापनि यसले भोग्नुपरेको आर्थिक संकट, सरकारी निकायहरूको असहयोग, पत्रकारिताको स्तर, विज्ञापन नीति, अनलाइन नियमन प्रणालीलाई प्रमुख रूपमा उठाइएको थियो।
पत्रकारितामा मौलाउँदै गएको ‘कपी-पेस्ट’ प्रवृत्तिको आलोचना
कार्यक्रममा हाल अनलाइन पत्रकारितामा मौलाएको ‘कपी-पेस्ट’ प्रवृत्ति माथि कडा आलोचना भयो। धेरै अनलाइन मिडियाले आफ्नै अनुसन्धानभन्दा गुगल सर्चबाट समाचार कपी गरेर प्रकाशित गर्ने प्रवृत्ति हाबी भएको भन्दै यसले पत्रकारिताको विश्वसनीयता गुमाउँदै गएको धारणा व्यक्त गरियो।
पत्रकारीता अनुसन्धानभन्दा गुगल सर्चमा भर पर्ने प्रवृत्तिले अनलाइन मिडियाको अस्तित्वलाई नै संकटमा पार्दैछ भन्ने धारणा व्यङ्ग्यात्मक रुपमा उठेको थियो । छलफलका क्रममा, “कपी-पेस्ट गर्नै गुगलमा खोज पत्रकारिता भैरहेको छ” भन्दै व्यङ्ग्यात्मक टिप्पणीसमेत भयो ।
कार्यक्रममा अनलाइन मिडियाको दर्ता प्रक्रिया र नियमनबारे पनि छलफल गरियो। पत्रकार महासंघका प्रतिनिधिहरूले अहिले अनलाइन मिडियाको दर्ता सजिलो भए पनि नियमन प्रभावकारी नभएको बताए।
प्रिन्ट मिडिया र एफएम रेडियोको घट्दो प्रभाव
अहिले छापा माध्यमहरू विविध कारणले बिस्तारै कमजोर हुँदै गएको र डिजिटल युगमा प्रभावशाली माध्यमका रूपमा अनलाइन मिडिया अगाडि आएको पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले बताए। उनले भने, “पहिला म काम गर्ने पत्रिका दुई हजार प्रति हेटौँडामा आउँथ्यो, तर अहिले बेला-बेला मात्र देखिन्छ।” उनले अनलाइन मिडियाले आफ्नो प्रभावकारिता कायम राख्न गुणस्तरीय समाचार सामग्री उत्पादन गर्नुपर्ने सुझाव दिए।
छलफलमा हाल केही अनलाइनहरू हप्तौँसम्म अपडेट नगर्ने, पुराना समाचारलाई नयाँ बनाएर हाल्ने, वा सामाजिक सञ्जालबाट सिधै समाचार कपि गर्ने गरेको समेत चर्चा गर्दै यस्ता मिडियाहरूलाई स्तरअनुसार वर्गीकरण गर्ने सुझाव आएको थियो।
डिजिटल मिडिया एसोसिएसन गठनको प्रस्ताव
कार्यक्रममा डिजिटल मिडिया सञ्चालकहरू एकजुट भएर संगठन निर्माण गर्नुपर्ने आवश्यकता रहेको भन्दै “डिजिटल मिडिया एसोसिएसन” गठन गर्ने प्रस्ताव अघि सर्यो। संगठन निर्माण भएमा अनलाइन मिडियाको अधिकार रक्षा, सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गराउने, अनलाइन पत्रकारिताको व्यावसायिकता अभिवृद्धि गर्ने, र अनलाइनलाई मुख्यधारको मिडिया बनाउने लक्ष्य राख्न सकिने बताइयो।
कार्यक्रममा सरकारी विज्ञापन वितरण प्रणालीको असमानताबारे पनि चर्चा गरिएको थियो। हाल सरकारी आधिकारिक सूचना तथा विज्ञापन ‘क’ वर्गको राष्ट्रिय पत्रिकाहरूमा मात्र अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने पुरानो नीति अनलाइन मिडियालाई बञ्चित गरिरहेको भन्दै समानुपातिक विज्ञापन वितरण नीति ल्याउनुपर्ने र पुरानो नीति सुधार गर्न आवश्यक देखिएको तर्क राखियो।
कार्यक्रममा स्थानीय मिडिया सञ्चालकहरूले सरकारी कार्यालयहरूमा विज्ञापन वितरण प्रक्रियामा व्यापक अनियमितता र कमिसनको खेल भइरहेको भन्दै कडा आपत्ति जनाए। हेटौँडाका एक अनलाइन मिडिया सञ्चालकले विज्ञापन वितरणमा पारदर्शिता नभएको र स्थानीय मिडियालाई बेवास्ता गरिएको बताए। उनले भने, “हेटौँडाका सरकारी कार्यालयहरूबाट निस्कने विज्ञापन स्थानीय मिडियालाई नदिई ८० प्रतिशतसम्म कमिसन लिएर काठमाडौंका मिडियामा पठाउने गरेको पाइएको छ। यो गम्भीर विषय हो।”
अर्का सञ्चालकले वितरण प्रक्रियामा अनियमितता मौलाएको र यसले अनलाइन मिडियालाई आर्थिक संकटमा धकेलेको बताए। उनका अनुसार, “स्थानीय निकायहरूले स्थानीय मिडियालाई प्राथमिकता दिनुपर्नेमा उल्टै विभिन्न बहानामा काठमाडौंका केही मिडियाहरूलाई मोटो रकम दिने र स्थानीय मिडियालाई भनेको बेला पनि न्यून बजेट छुट्याउने गरेका छन्।” उनले भने, “हामीले अनुसन्धान गर्दा हेटौँडाका कार्यालयहरूबाट निस्कने विज्ञापन बजेटको ८० प्रतिशतसम्म कमिसनका रूपमा काठमाडौं पठाइएको सूचना पाएका छौं।”
संचार रजिष्ट्रार रेवती सापकोटाले पुरानो सरकारी नीतिले डिजिटल मिडियालाई असहयोग भएको स्वीकार गर्दै भने, “पुरानो खालका नीतिहरू अहिलेको सन्दर्भमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ। सरकारले डिजिटल मिडियाको व्यापक प्रभाव र महत्त्वलाई बुझेर नयाँ नीति ल्याउनुपर्छ, अब कस्तो लाई राष्ट्रिय भन्ने, अनलाईनलाई के भन्ने?” प्रश्न गर्दै उनले विज्ञापन वितरणमा पारदर्शिता र समानुपातिक व्यवस्था हुनुपर्ने बताए ।
अनलाइन मिडियाको संख्या बढ्दै गए पनि, गुणस्तरीय पत्रकारिता, व्यावसायिकता, नियमन, र आर्थिक स्थायित्व जस्ता विषयमा सुधार आवश्यक रहेको छलफलको निष्कर्ष थियो। डिजिटल पत्रकारिताको सशक्त भविष्य बनाउन नीति निर्माण, व्यावसायिकता, र एकताको आवश्यकता रहेको निष्कर्ष निकाल्दै सभाध्यक्ष रबिन्द्र गौतमले कार्यक्रम समापन गरे।
कार्यक्रम स्वस्तिक मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सभाध्यक्ष स्वस्तिक मिडिया प्रा.लि.का सञ्चालक रबिन्द्र गौतम थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार रजिष्ट्रार रेवती सापकोटा उपस्थित थिए।