हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले आफ्ना निर्वाचित जनप्रतिनिधिमाथि भइरहेको निरन्तर आक्रमणप्रति विरोध जनाउँदै शुक्रबारका लागि सबै सेवा स्थगन गर्ने निर्णय गरेको छ।
असार ४ गते वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोबिल छ्यापिएको घटना सेलाउन नपाउँदै बिहीबार बिहान वडा नम्बर–४ का अध्यक्ष नविन सिग्देलमाथि थप्पड प्रहार भएपछि उपमहानगरले यस्तो निर्णय गरेको हो। बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मीनाकुमारी लामाले यस्तो अवस्था सह्य नभएको भन्दै शुक्रबार उपमहानगरका सबै सेवा बन्द गर्ने जानकारी दिइन्।
नगरप्रमुख लामाले भनिन्, “हाम्रो जनप्रतिनिधिहरु निरन्तर आक्रमणको सिकार भइरहेका छन्। यस्तो असुरक्षित वातावरणमा सेवा दिन गाह्रो हुन्छ। त्यसैले हामीले कार्यपालिका बैठकबाट निर्णय गरेर सेवा बन्द गर्ने घोषणा गरेका हौं।”
पत्रकार सम्मेलन गर्दै मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ र अधिकांश वडाध्यक्षहरूको उपस्थितिमा शुक्रबार सबै सेवा बन्द हुने जानकारी गराइएको छ ।
मेयर लामाले वडाध्यक्षहरूमाथि आक्रमण गर्नेलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन आग्रह गरेकी छन् ।
जनप्रतिनिधिहरूमाथि सुरक्षा चुनौती बढेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । वडा कार्यालयहरूमा काम गर्ने वातावरण निर्माणका लागि सबैपक्षसँग उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
निर्माण विवादमा थप्पड
बिहीबार बिहान वडा नम्बर–४ स्थित हेटौँडा क्याम्पसबाट हुप्रचौरतर्फको सडक विस्तारका क्रममा अध्यक्ष सिग्देलमाथि निर्माण व्यवसायी मञ्जु लामाले थप्पड प्रहार गरेको प्रहरीले जनाएको छ। सडकको अवस्था र निर्माणको ढिलाइबारे छलफल भइरहेका बेला निर्माण व्यवसायी काभ्रेको रोशी गाउँपालिका–११ घर भएकी मञ्जु लामाले भिडियो खिच्न थालेपछि विवाद चर्किएको थियो। प्रत्यक्षदर्शीका अनुसार अध्यक्ष सिग्देलले ‘भिडियो नखिच्न’ भन्दै मोबाइल रोकेका बेला महिला व्यवसायीले आक्रोशित हुँदै थप्पड हानेकी हुन्।
घटनापछि मञ्जु लामालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
हेटौँडा क्याम्पसदेखी हुप्रचौरसम्मको भित्री सडक विस्तारका लागि करिब डेढ वर्षअघि सम्झौता भए पनि निर्माण कार्य अघि नबढेको भन्दै स्थानीय असन्तुष्ट हुँदै आएका छन्। दुई साताअघि पर्खाल भत्काएर बाटो फराकिलो बनाइएको भए पनि निर्माणमा प्रगति हुन सकेको थिएन। बुधबारदेखि मात्र ठेकेदारले ढल निर्माणका लागि खाल्डो खन्न थालेको थियो। बिहीबारको विवादपछि निर्माण रोकिएको वडा कार्यालयले जनाएको छ।
कार्यकक्षमै कालो मोबिल
यसअघि, असार ४ गते वडा नम्बर–१ का अध्यक्ष एवम् उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै कालो मोबिल छ्यापिएको थियो। अपरिचित तीन–चार जनाको समूहले कार्यालयमा पसी टाउको, कपडा र शरीरभरि मोबिल छ्यापेर भागेको थियो। उनीहरु दुईवटा मोटरसाइकलमा आएका थिए।
प्रहरीले घटनालाई भूमिहिन सुकुम्बासी व्यवस्थापनसँग जोडिएको हुन सक्ने अनुमान गरेको छ। घटनास्थलमा ‘भूमिहिन सुकुम्बासी’ लेखिएको खाली फाइल समेत भेटिएको थियो।
उपमहानगरले हेटौँडा अस्पताल पछाडिको सार्वजनिक जमिनमा टहरा निर्माण गर्न खोज्नेहरुलाई हटाउँदै आएको छ। सार्वजनिक जमिन संरक्षण कानुनअनुसार स्थानीय तहको दायित्व रहेको भन्दै उपमहानगरले ती जमिन खाली गराउने काम अघि बढाएको थियो। प्रहरीले फरार समूहको खोजी जारी राखेको जनाएको छ।
यस घटनामा संलग्न व्यक्तिहरुको पहिचान प्रहरीले अझै सार्वजनिक गर्न सकेको छैन। घटनाको १५ दिन बितिसक्दा पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार घटनासँग सम्बन्धित एकजनालाई नियन्त्रणमा लिइएको छ भने अन्य दुईजनाको खोजी कार्य भइरहेको छ। तर, नियन्त्रणमा लिइएका व्यक्तिको परिचय भने अनुसन्धानका सबै पक्ष पूरा भएपछि मात्र सार्वजनिक गर्ने उनले बताए ।
पुरानै घटना दोहोरिए
२०७९ साल भदौमा पनि वडा नम्बर–४ का अध्यक्ष नविन सिग्देलमाथि आफ्नै कार्यकक्षमा हातपात भएको थियो। नेकपा एमाले मकवानपुरका सचिव समेत रहेका सिग्देलमाथि एमालेकै जिल्ला सदस्य सानु लामा दोङले कुटपिट गरेका थिए। उजुरीका आधारमा प्रहरीले लामा दोङलाई खोजी गरे पनि उनी फरार रहँदा त्यो घटना पनि मिलापत्रमा टुंगिएको थियो।
हेटौँडामा पछिल्ला वर्षहरुमा सडक निर्माण ढिलाइ, भूमिहिन व्यवस्थापन जस्ता मुद्दामा स्थानीय असन्तुष्टि बढ्दै गएको छ। स्थानीय सरकार हिंसात्मक आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै कानुनी कारबाहीको माग गर्दै आएको छ। शुक्रबारका लागि सबै सेवा बन्द गर्ने निर्णयसँगै उपमहानगरले ‘जनप्रतिनिधिमाथि आक्रमण अस्वीकार्य छ’ भन्ने सन्देश दिन खोजेको छ।
दुबै घटनामा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिने र फरारलाई खोजी गर्ने बताउँदै आएको छ।