हेटौँडा | मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारी ठूले गोलेको गोली हानी हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान ६४ वर्षीय गोलेलाई गोली प्रहार गरिँदा घटनास्थलमै मृत्यु भएको थियो।
हत्या आरोपमा प्रहरीले ७५ वर्षीय इमान सिंह थोकरलाई नियन्त्रणमा लिएको छ। थोकरको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान तथा १९० ग्राम गनपाउडर समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार पुरानो रिसइबीका कारण थोकरले गोलेमाथि गोली प्रहार गरेको आशंका प्रहरीको छ।
सादा पोशाकका प्रहरी समेत परिचालन गरी थोकरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए।



