हेटौँडा | आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मतदाता नाम दर्ता गर्ने काम तीव्र भइरहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल २ लाख ८१ हजार १२९ जना नयाँ मतदाता सूचीमा थपिएका छन्। शुक्रबार मात्र १२ हजार ६०१ पुरुष र ११ हजार ९ महिला गरी २३ हजार ६१४ जनाले आफ्नो नाम दर्ता गराएका छन्।
मतदाता दर्ता केन्द्रहरूमा लगातार भीड बढिरहेका कारण आयोगले नाम दर्ता गर्ने समय पाँच दिन थपेर मङ्सिर ५ गतेसम्म पुर्याएको छ। यसअघि आयोगले दर्ताको अन्तिम मिति कात्तिक ३० तोकेको थियो। कात्तिक २७ सम्मको तथ्यांक हेर्दा २ लाख ५७ हजार ५०५ जनाले नाम दर्ता गराइसकेका थिए। पछिल्लो केही दिनयता नागरिक सहभागिता झन् बढेपछि समय थप्न आयोग बाध्य भएको आयोगले बताएको छ ।
थपिएको अवधिमा पनि मतदाता दर्ता गर्न राष्ट्रिय परिचयपत्र प्रयोग गर्न सकिनेछ। साथै, पहिले जस्तै प्रि–रजिस्ट्रेसन सिस्टमबाट पनि आवेदन दिन सकिने आयोगले जनाएको छ। आयोगले योग्य नागरिकलाई समयमै नाम दर्ता गरेर निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।



