बागमती प्रदेशमकवानपुरएसईईमा कमजोर नतिजापछि झस्कियो राक्सिराङ, दैनिक वाट्सएप रिपोर्टिङ र साप्ताहिक मोडल टेस्ट...

एसईईमा कमजोर नतिजापछि झस्कियो राक्सिराङ, दैनिक वाट्सएप रिपोर्टिङ र साप्ताहिक मोडल टेस्ट लागू

हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा मकवानपुरकै सबैभन्दा कमजोर नतिजा ल्याएको राक्सिराङ गाउँपालिकाले नतिजा सुधारका लागि कडा शैक्षिक कार्ययोजना अघि सारेको छ। परीक्षामा सहभागी १३२ जना विद्यार्थीमध्ये ११७ जना अर्थात् ८८.६४ प्रतिशत विद्यार्थी ननग्रेडेड भएपछि गाउँपालिकाले विद्यालय अनुगमन, प्रधानाध्यापकको दैनिक रिपोर्टिङ र साप्ताहिक नमुना परीक्षालाई अनिवार्य गरेको हो।

राक्सिराङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख पङ्कज थारुका अनुसार नतिजा सार्वजनिक भएलगत्तै पालिकाले सबै विद्यालयका प्रधानाध्यापकलाई सहभागी गराएर तीनदिने समीक्षा तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो। विद्यालय सुधारका लागि स्पष्ट कार्ययोजना बनाउन चितवनको नारायणी नमुना माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापकलाई समेत बोलाएर प्रशिक्षण दिइएको उनले जानकारी दिए।

“अब पुरानै शैलीले मात्रै नतिजा सुधार हुँदैन भन्ने निष्कर्षमा पुगेका छौँ,” शिक्षा प्रमुख थारुले भने, “त्यसैले प्रत्येक प्रधानाध्यापकलाई हरेक दिन कम्तीमा एउटा कक्षाको अनुगमन गर्न र त्यसको फोटोसहितको रिपोर्ट पालिकामा पठाउन अनिवार्य गरिएको छ।”

उनका अनुसार प्रधानाध्यापकहरूले कक्षा अवलोकनपछि तोकिएका सूचकका आधारमा दैनिक रिपोर्ट तयार गरी वाट्सएपमार्फत पालिकालाई पठाउनुपर्ने व्यवस्था गरिएको छ। यसले विद्यालयभित्रको पठनपाठन, शिक्षकको उपस्थिति र विद्यार्थीको सिकाइ अवस्थासम्म नियमित निगरानी गर्न सहज हुने पालिकाको बुझाइ छ।

पालिकाले विद्यार्थीहरू परीक्षा प्रणाली र प्रश्नपत्रको ढाँचामा अभ्यस्त नभएको निष्कर्ष निकाल्दै कक्षा ८ र १० का विद्यार्थीका लागि हरेक आइतबार अतिरिक्त कक्षा सञ्चालन गर्ने र दुई विषयको साप्ताहिक अभ्यास परीक्षा अर्थात् मोडल टेस्ट लिने व्यवस्था पनि सुरु गरेको छ।

जिल्लाको समग्र एसईई नतिजा करिब ५० प्रतिशतको हाराहारीमा रहँदा राक्सिराङको ग्रेडेड प्रतिशत भने ११.३६ प्रतिशतमा सीमित भएको छ। शिक्षा विकास तथा समन्वय एकाइ मकवानपुरका प्रमुख सुदिप गिरीका अनुसार नतिजा सुधार अभियानअन्तर्गत राक्सिराङका विभिन्न विद्यालयमा एकाइ र पालिकाको टोली प्रत्यक्ष पुगेर कक्षा अवलोकन, शिक्षकसँग छलफल र पृष्ठपोषण दिने काम भइरहेको छ।

गिरीका अनुसार महाकाली देवी माध्यमिक विद्यालय र प्रजा जागृति माध्यमिक विद्यालयलगायतका विद्यालयमा पुगेर कक्षाकोठा तहबाटै सुधारको प्रयास सुरु गरिएको हो। कमजोर विद्यार्थीलाई केन्द्रमा राखेर कतिपय विद्यालयमा शिक्षकलाई नै विद्यार्थीको ‘अभिभावक’ तोकेर जिम्मेवारी दिने अभ्याससमेत थालिएको उनले जानकारी दिए।

यस वर्ष राक्सिराङका कालिका माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय र माध्यमिक विद्यालय देवीटारबाट एसईईमा सहभागी सबै विद्यार्थी ननग्रेडेड भएका छन्। पालिकाको पछिल्ला वर्षहरूको नतिजा पनि निरन्तर चिन्ताजनक देखिएको छ। गाउँपालिकाका अनुसार २०८० सालमा राक्सिराङको ग्रेडेड प्रतिशत ९.८ रहेकोमा २०८१ मा घटेर ६.५ प्रतिशतमा सीमित भएको थियो।

गाउँपालिकाले यो अवस्था एकै वर्षमा सिर्जना नभएको जनाएको छ। विषयगत शिक्षकको अभाव, स्थायी दरबन्दी नहुनु, दुर्गम भूगोल, कमजोर शैक्षिक वातावरण र विद्यार्थीको नियमित उपस्थितिमा देखिएको समस्या नतिजा कमजोर हुनुका मुख्य कारण रहेको शिक्षा शाखाको बुझाइ छ।

शिक्षा शाखा प्रमुख थारुका अनुसार कतिपय विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक नै छैनन्। विषयगत शिक्षक व्यवस्थापनका लागि तल्लो तहदेखि नै शिक्षकहरूको म्यापिङ गरी सरुवा मिलानको तयारी अघि बढाइएको उनले जानकारी दिए।

राक्सिराङका विद्यार्थीमध्ये कतिपय दुई घण्टासम्म हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यतामा छन्। परीक्षाको तयारीकै समयमा चाडपर्व, घरायसी काम तथा माछा मार्ने सिजन सुरु हुँदा विद्यार्थीको विद्यालय उपस्थिति घट्ने समस्या पनि रहेको पालिकाले जनाएको छ।

गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले राक्सिराङको शैक्षिक समस्या प्रशासनिक र प्राविधिक मात्र नभई सामाजिक तथा आर्थिक अवस्थासँग पनि जोडिएको बताए। उनका अनुसार गाउँमा शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने चेतना अपेक्षित रूपमा विकास हुन सकेको छैन।

“शिक्षाबारे गाउँस्तरमा पर्याप्त बहस र जागरण हुन सकेको छैन,” उपाध्यक्ष थिङले भने, “पढ्नुपर्छ, नियमित विद्यालय जानुपर्छ भन्ने सामाजिक वातावरण अझै बलियो बनाउनुपर्ने आवश्यकता छ।”

पालिकाको कुल बजेटमध्ये करिब ७ प्रतिशत मात्रै शिक्षा क्षेत्रमा खर्च भइरहेको उनले जानकारी दिए। दुर्गम भूगोल, सडक पहुँचको अभाव र आधारभूत पूर्वाधारमै ठूलो बजेट खर्चिनुपर्ने बाध्यताका कारण शिक्षामा अपेक्षित लगानी बढाउन चुनौती रहेको थिङको भनाइ छ।

“कतिपय ठाउँमा अहिले पनि मानिसहरू भारी बोकेर जीविकोपार्जन गर्न बाध्य छन्, खोलामा बगेर ज्यान गुमाउने जोखिम छ,” उनले भने, “यस्तो अवस्थामा सबै क्षेत्रमा एकसाथ लगानी गर्नुपर्ने बाध्यताले शिक्षामा चाहेजति बजेट छुट्याउन कठिन छ।”

अन्य पालिकामा निजी विद्यालयको नतिजाले समग्र तथ्यांक उकास्न सहयोग गरे पनि राक्सिराङमा निजी विद्यालय नहुँदा त्यसको असर पनि पालिकाको कुल नतिजामा देखिएको जनप्रतिनिधिहरूको बुझाइ छ।

यद्यपि, नतिजापछि सुरु गरिएको नियमित अनुगमन, प्रधानाध्यापकको दैनिक रिपोर्टिङ, अतिरिक्त कक्षा, साप्ताहिक मोडल टेस्ट र शिक्षक व्यवस्थापनको प्रयासले आगामी वर्ष राक्सिराङको एसईई नतिजामा सुधार आउनेमा गाउँपालिका आशावादी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img