समाजशिक्षकले कुटे विद्यार्थी, गर्नुपर्यो शल्यक्रिया 

शिक्षकले कुटे विद्यार्थी, गर्नुपर्यो शल्यक्रिया 

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित तासिर अंग्रेजी माध्यमिक विद्यालयका एक शिक्षकको कुटपिटबाट कक्षा ८ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी सबिर भुजेल बिरामी परेको घटनामा प्रहरीले कानुनी प्रक्रिया सुरु गरेको छ। गत जेठ ७ गते कक्षाकोठामा प्रश्नको उत्तर दिन नसकेको भन्दै सामाजिक विषयका शिक्षक अच्युत ओझाले कुटपिट गरेको आरोप पीडित पक्षले लगाएको छ। घटनापछि बालकको टाउकोमा समस्या देखिएको र उपचारका क्रममा शल्यक्रिया गर्नुपरेको पीडित पक्षको दाबी छ।

घटनाको विषयलाई लिएर पीडित पक्ष तथा नागरिक समाजका प्रतिनिधिहरू बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका थिए। पीडित पक्षले कुटपिटपछि बालकको स्वास्थ्यमा गम्भीर समस्या देखिएको र उपचारका क्रममा शल्यक्रिया गर्नुपरेको जानकारी गराएको मकवानपुर प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनप्रसाद काफ्लेले पीडित पक्ष प्रहरी कार्यालय आएको पुष्टि गर्दै आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनका अनुसार बालकलाई कानुनी घाउजाँचका लागि एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मार्फत पठाइसकिएको छ।

डीएसपी काफ्लेले अस्पतालबाट प्राप्त हुने आधिकारिक घाउजाँच प्रतिवेदनका आधारमा घटनाको प्रकृति निर्धारण गरिने बताए । “बालकको कानुनी घाउजाँचका लागि पठाइसकेका छौँ। प्रतिवेदन प्राप्त भएपछि र पीडित पक्षसँग थप छलफल गरी प्राप्त हुने जाहेरीका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्छ,” उनले भने।

प्रहरीका अनुसार आरोपित शिक्षक ओझा पनि घटनापछि बालकको उपचार तथा हेरचाहमा संलग्न रहँदै आएका छन्। घटनाबारे थप तथ्य संकलन भइरहेको र प्राप्त प्रमाण तथा जाहेरीका आधारमा आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img