सुनसरी | नेपाल प्रेस युनियन सुनसरीद्वारा आयोजना गरिएको सञ्चारकर्मी तथा उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान परिक्षण शिविर सम्पन्न भएको छ ।
आज इटहरीको दुर्गा पार्टी प्यालेस आइतबारमा आयोजना गरिएको शिविरमा १४० जना लाभान्वित भएका छन् । प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा आँखा तथा कान शिविर आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।
अधिकारीका अनुसार प्रत्यक्ष रूपमा आँखा र कानले धेरै महत्वपूर्ण काम गर्ने भएकाले यो शिविर आयोजना गरिएको हो , ‘पत्रकार र उनीहरूका परिवारको निःशुल्क शिविर राखिएको हो ।’ परीक्षणमा समस्या भएकालाई निःशुल्क चस्मा तथा औषधि वितरण समेत गरिएको थियो ।
पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष हर्ष सुब्बाले भने `पत्रकारहरूलाई नै लक्षित गरेर यस्ता किसिमका शिविर आयोजना गर्नु अतुलनीय काम हो, ‘विराटनगरको रानीमा रहेको आँखा अस्पताल भएकै कारण म धरानबाट इटहरी आएको हुँ, यो सकारात्मक काम हो ।’
कार्यक्रममा बोल्दै विराटनगर आँखा अस्पतालका कुमार प्रितुले भने विराटनगर आँखा अस्पतालमा विशेषगरी भारत, बङ्गलादेश, भुटान लगायतबाट आँखा तथा कान शिविर गर्न आउनेको संख्या उच्च रहेको बताए ।
कुमार प्रितुका अनुसार सञ्चारकर्मीहरूले धेरैजसो समय कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता प्रविधिमा समय दिने भएकाले यसले दीर्घकालीन असर समेत पर्ने भएकाले वर्षमा एकपटक आँखा तथा कान जाँच गराउन आवश्यक रहेको बताए ।
प्रेस युनियन सुनसरीले केही साता अगाडि मात्रै यहाँका क्रियाशिल फोटो पत्रकारहरूलाई फोटोग्राफी सम्बन्धि तालिम समेत सञ्चालन गरिएको थियो । कोरोना महामारीका बेला जिल्लाका सञ्चारकर्मीहरूको कोरोना बीमा, दुर्घटना बीमा, फुड बैँक सञ्चालन जस्ता कार्यक्रमको आयोजना गरिसकिएको प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईले बताए ।



