तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका ९, काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । म्याङलुङ–बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बररको टिपर बुधबार बेलुकी साढे ६ बजे सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी टिपरमा सवार झापाको मेची नगरपालिका १५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मादी नगरपालिका ४ संखुवासभा घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समीर चौधरी र उमेर नखुलेका बिष्णु थामी घाइते भएका छन् ।
दुर्घटनामा परेका सबै जना घाइते भएकाले चालक को हो भनेर पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।