नेपाल र भारतका प्रधानमन्त्रीले सोमबार शुभारम्भ गरेको अयोध्याधाम–जनकपुरधाम रेल सेवाअन्तर्गत ‘सरयू–कमला एक्सप्रेस’ रेल आज मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट नेपालका प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झण्डा देखाएर उक्त रेल सेवाको उद्घाटन गरेका थिए।
रेलमार्फत जनकपुरधाम आइपुगेका यात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघीय श्रममन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिका, स्थानीय प्रशासन र जनकपुरधाम उद्योग वाणिज्य संघका प्रतिनिधिले स्वागत गरेका छन्। यात्रुको स्वागतमा बटुकहरूले स्वस्तिवाचनसमेत गरेका थिए।
श्रममन्त्री रामजी यादवले हप्तामा एक दिन सञ्चालन हुने यस रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। अयोध्या र जनकपुरधामलाई रेल सञ्जालले जोड्दा दुवै देशको साझा संस्कृति र जनस्तरको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ।
विवाहपञ्चमी महोत्सव नजिकिँदै गर्दा अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालु तथा भक्तजनलाई यात्रा गर्न अझ सहज हुने उनले बताए।