Thursday, December 5, 2024
देशकोशी प्रदेशफोहोर व्यवस्थापनमा इटहरीले मार्‍यो फड्को

फोहोर व्यवस्थापनमा इटहरीले मार्‍यो फड्को

इटहरी – फोहोर मैला व्यवस्थापनमा इटहरी उपमहानगरपालिकाले निकै ठुलो फड्को मारेको छ । शहरमा उत्पादन भएको फोहोर खाल्डा खुल्डीमा फाल्नुपर्ने, चारेकोशे जङ्गल तथा सामुदायिक बनमा फाल्नुपर्ने अवस्था देखी अहिले आफ्नै प्रशोधन केन्द्रबाट ग्याँस र प्राङगारिक मल उत्पादन सम्म आई पुगेको छ ।

फोहोर व्यवस्थापनको काम शुरु भएको १० वर्षपछि फोहोरबाट ग्याँस र प्राङगारिक मल उत्पादन शुरु भएको छ। इटहरी १० मा स्थापना भएको फोहोर प्रशोधन केन्द्रले प्लान्ट निर्माण सम्पन्न गरी सन् २०२२ मे ७ देखि ग्याँस उत्पादन परीक्षण शुरु गरेको वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिका सञ्चालक मानध्वज मोक्तानले जानकारी दिए ।

परिक्षणकाल अवधिमा एक सय सिलिन्डर ग्याँस उत्पादन गरी विक्री गरिएको कम्पनीले जनाएको छ। उत्पादन भएको ग्याँस सुनसरीकै नेमुवामा रहेको जानकी ट्याङ्की उद्योगलाई विक्री गरिएको कम्पनीका सञ्चालक मोक्तानले जानकारी दिए । कम्पनीले अव भने केही प्राविधिक पक्षलाई व्यवस्थापन गर्दै व्यवसायीक रूपमा ग्याँस र मल उत्पादन गर्न सक्षम भएको बताएको छ। ग्याँस र मलको उत्पादन तथा विक्री गरी राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको इन्भारो कम्पनीका सञ्चालक मोक्तानको विश्वास छ ।

आयोजनाको डिपीआर अनुसार साढे १३ करोड लाग्ने अनुमान थियो। तर ग्याँस उत्पादनको अवस्था सम्म आइपुग्दा करिब २१करोड लगानी भएको इन्भारो म्यानेजमेन्ट कम्पनीले जनाएको छ। योजनाको डिपीआर अनुसार स्थापना भएको प्लान्टबाट दैनिक ३० टन कुहिने फोहोर प्रशोधन गरी ८ टन ग्याँस र ६ टन प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ। कुहिने फोहोरबाट ग्याँस र मल उत्पादन गर्न २ करोड ७० लाखको लागतमा डाईजेस्टर निर्माण गरिएको छ ।

ल्याण्डफिल्ड साईड सञ्चालनमा आएपछि फोहोर मैला व्यवस्थापन सहज मात्र भएको छैन, सडकमा जथाभाबी देखिने फोहोर समेत हटेको छ। इटहरीका मुख्य चौक, सडक तथा भित्री सडकहरू समेत सफा देखिन थालेका छन्। दैनिक नियमित रूपमा फोहोर सङ्कलन र व्यवस्थापन हुन थालेपछि इटहरी सफा देखिन थालेको हो। अहिले फोहोर व्यवस्थापनमा कुनै समस्या भोग्नु नपरेको इटहरी उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीले बताए ।

विरोध आउन थालेपछि चारकोशे जङ्गल तथा सामुदायिक बनमा लगेर फाल्ने गरिएको थियो। जङ्गलमा फालिएको फोहोरमा आगो लाग्दा निस्किएको धुवाँले इटहरीको भवानीपुर क्षेत्रका स्थानीयले स्वास्थ्य समस्या भोग्नु परेको थियो। आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको थियो। विशेष गरी दम र श्वासप्रश्वास सम्बन्धी रोग भएका बिरामीलाई ठुलो समस्या हुने गरेको थियो।

इटहरीको फोहोर मैला व्यवस्थापन यहाँसम्म आइपुग्न भएको सामूहिक प्रयास अर्को महत्वपूर्ण पक्ष हो। फोहोर व्यवस्थापन गर्नु इटहरी उप–महानगरपालिका र निजी क्षेत्रको पहिलो कर्तव्य थियो।

शुरुका दिनमा सञ्चालन भएका विभिन्न सफाइ अभियानहरूले फोहोर व्यवस्थापनका लागि महत्त्वपूर्ण योगदान गरेका थिए। के आई सी इटहरी अभियान,उद्योग वाणिज्य संघ इटहरी, विभिन्न सामाजिक संघ संस्था, टोल विकास संस्थाहरूको रचनात्मक सहयोगले फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीलाई सहयोग पुगेको थियो। इटहरीमा देखिएको सामाजिक अभियानले छिमेकी शहरमा समेत सकारात्मक प्रभाव पारेको थियो।

दैनिक ४० देखी ४५ टन फोहोर उत्पादन हुने इटहरीमा केवल डेढ टन मात्रै कुहिने फोहोर संकलन हुँदा चुनौती देखिएको कम्पनीको भनाई छ। प्रशोधन केन्द्रको दीर्घकालीन सञ्चालनका लागि आवश्यक कच्चापदार्थको व्यवस्थापनका लागि श्रोतमै फोहोरको सेग्रिगेसन गर्नुपर्ने उप–महानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी बताए । व्यवस्थापन कम्पनीले फोहोरको सेग्रिगेसनका लागि काम गर्नुपर्ने उनको सुझाव छ।

यता, अपुग कच्चापदार्थका लागि विकल्प खोजी भईरहेको कम्पनीले जनाएको छ। पशु फार्मबाट गोबर, उखु मिलका कच्चा पदार्थ र जङ्गलका झारलाई विकल्पको रुपमा प्रयोग गर्ने योजना बनाएको कम्पनीका सञ्चालक मोक्तानले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img