भोजपुर | वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने समस्याले पीडित भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई सातिघाट–दिङ्ला सडक कालोपत्र भएपछि सहजता भएको छ।
कोशी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयअन्तर्गत करिब दुई किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो। यस सडकखण्डको पहिलो चरणअन्तर्गत अघिल्लो आर्थिक वर्षमा ८ सय मिटर सडक कालोपत्र गरिएको थियो, भने चालु आर्थिक वर्षमा २ करोड २० लाख लागतमा १२ सय मिटर थप कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए।
उनका अनुसार सातिघाट–दिङ्ला सडकको कुल लम्बाइ १२ किलोमिटर रहेको छ। वार्षिक थोरै मात्रामा बजेट विनियोजन हुने भएकाले चरणबद्ध रूपमा सडक कालोपत्र गर्नुपर्ने बाध्यता रहेको उनले बताए। ‘महत्वपूर्ण सडक भए पनि राज्यबाट न्यून बजेट आउने गरेको छ। यस्तो सडकलाई बहुवर्षीय योजनामा समेटेर प्राथमिकताका साथ बजेट विनियोजन गर्न आवश्यक छ,’ उनले भने।
सडक तोकिएको मापदण्डअनुसार गुणस्तरीय ढंगले निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका सव-इन्जिनियर चन्द्र शेखर सिंहले बताए। उनका अनुसार प्रयोग गरिएका निर्माण सामग्रीहरूको ल्याब परीक्षणपछि मात्र सडकमा प्रयोग गरिएको हो।
२०८० चैत महिनाबाट सुरु भएको यो सडक निर्माण कार्य ११ महिनामा सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नवीन यादवले जानकारी दिए।
सातिघाट–दिङ्ला सडक कालोपत्र भएपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। तर भोजपुर र संखुवासभालाई जोड्ने सातिघाट क्षेत्रमा अझै पनि पक्की पुलको अभाव रहेको स्थानीय नवीन कार्कीले बताए। अरुण नदीमा पक्की पुल नबन्दा आवतजावतमा अझै समस्या रहेको र पुल निर्माणका लागि राज्य तहबाट पहल गरिनुपर्ने उनको माग छ।
षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केले सडक कालोपत्र भएसँगै स्थानीयलाई सहज भएको बताउँदै पुलको अभावमा अझै पूर्णरूपमा सुविधा प्राप्त गर्न नसकिएको उल्लेख गरे।