भोजपुर / भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलामा निर्माणाधिन मोटरेबलपुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका वडा नम्वर २ र साल्पासिलिछो गाउँपालिका वडा नम्वर ३ जोडेर
साल्पासिलिछो जान्छ ।
ढलान गर्न तयारी अवस्थामा रहेको पुल बिहीबार बिहान भत्किएको हो। अन्तिम चरणमा पुगेको
मोटरवरे पुल भत्किएसँगै स्थानीयको सहजरुपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयबासीले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको अनुमान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताए । पुर्वाधार विकास कार्यलय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानविन गर्नु पर्ने माग स्थानीयहरुले राखेका छन् ।
लापरवाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोड्ने कावा खोलामा पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मंसिरमा भत्किएको थियो । हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ जोड्ने स्थानमा स्विस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो ।