हेटौँडा – मकवानपुरको मनहरी गाउँपालिकामा पुल निर्माणको ठेक्का लिएर पनि काम नगर्ने ठेकेदार, नदीजन्य पदार्थको राजश्व मिनाहा, पाडापाडी वितरणमा अनियमितता र निर्माणाधिन मनहरी अस्पतालमा कमसल सामग्रीको प्रयोग भएको विरोधमा शुक्रबार नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा पुल निर्माण गर्ने ठेक्का लिएर पनि काम नगर्ने बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, अन्य ठेकेदार शिव चौलागाईँ र मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको फोटो सहितको कालो ब्यानर प्रदर्शनस्थलमा राखिएको थियो।
ब्यानरमा “माननीय ठेकेदार इन्द्रबहादुर बानियाँ ज्यू यो पुल कहिले बन्छ?” लेखिएको छ। यस्तै, गाउँपालिका अध्यक्ष कालाखेतीलाई निजी सवारी साधनमा सरकारी ढुकुटी खर्च गर्न पाउने प्रश्न गरिएको छ।
त्यस्तै मनहरी गाउँपालिकाभित्रको ढुँगा, गिटी, बालुवाको राजश्व मिनाहा गर्ने अधिकार कसले दियो भन्ने प्रश्न, पाडापाडी वितरणमा भएको अनियमितताको छानबिन प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नसहित मनहरी अस्पताल निर्माणमा कमसल सामग्रीको प्रयोग गरिएको भन्दै आलोचना गरिएको छ।
प्रदर्शनमा बोल्दै नेकपा एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले मनहरीमा बढ्दो अनियमितताका बारेमा ध्यानाकर्षण गराउँदा पनि पालिकाले चासो नदेखाएकाले यस्तो प्रदर्शन गरिएको बताए।
उनका अनुसार, मनहरीमा ५ वटा पुल निर्माणमा भइरहेको ढिलाइ, गाउँपालिकामा हुँदै आएको अनियमिततालगायतका विषयमा पाँच दलले ध्यानाकर्षण गराएर पनि चासो नदेखाएपछि यस्तो आन्दोलनमा उत्रिएको हो।
यसअघि पाँच दलका नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर गाउँपालिकालाई नदीजन्य पदार्थमा गरिएको राजश्व छुट लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए। तर, चासो नदिएपछि यो प्रदर्शन गरिएको सुवेदीले बताए।
मनहरी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीहरुको मिलेमतोमा नदिजन्य पदार्थमा गरिएको राजश्व छुट लगायतका विषयमा पाँच दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।