बागलुङ | बागलुङको बरेङ गाउँपालिका-३ बाटाकाचौर साग्दीस्थित सत्यवती मन्दिरमा पर्यटन पूर्वाधार निर्माणका क्रममा छन्। यस धार्मिक तथा पर्यटकीय गन्तव्यमा गाउँपालिका र प्रदेश सरकारले लगानी गरेर सडक, भवन, खानेपानी लगायत पूर्वाधार निर्माण गरिरहेका छन्।
करिब एक दशकअघिसम्म जीर्ण अवस्थामा रहेको यस मन्दिरमा हाल भक्तजनका लागि विभिन्न सुविधा थपिएका छन्। परम्परागत रुपमा चिच्च्याएर वर माग्ने यस मन्दिरमा अहिले बरेङ गाउँपालिकाले खानेपानी, शौचालय, भवन, फनपार्क निर्माण गरेको छ भने मन्दिरसम्मको सडक बाह्रैमहिना सञ्चालन हुने गरी व्यवस्थित बनाइएको छ।
“पहिले मन्दिर परिसर निकै साँघुरो थियो, अहिले चारैतिर फराकिलो र व्यवस्थित बनाएका छौँ,” बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “देशभरबाट भक्तजन आउने तर यहाँको सडक अव्यवस्थित हुँदा दुःख पाएकाले अहिले सडकलाई कच्ची भए पनि बाह्रैमहिना सञ्चालन हुने बनाएका छौँ।”
चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु १० लाख र गाउँपालिकाले रु १३ लाख बजेट विनियोजन गरेको छ। यसबाट मन्दिरदेखि मैदानसम्म १ सय १२ मिटर पक्की पदमार्ग र मन्दिर परिसरमा भवन निर्माण गरिँदैछ।
“अहिले मन्दिरसँगै यस क्षेत्रमा धेरै सुधार आएको छ, पहिले मन्दिरमा पूजाआजा गर्न आउने मानिसलाई साँघुरो ठाउँमा लड्नुपर्ने बाध्यता थियो, अहिले ठाउँ फराकिलो भएकाले त्यस्तो समस्या छैन,” निर्माण समितिका अध्यक्ष होमबहादुर श्रीसले भने।
मेला लाग्ने धान्य पूर्णिममा यस मन्दिरमा ठूलो भीड लाग्ने गरेको छ भने हरेक महिना करिब २ हजार धार्मिक पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।