मनाङ | मनाङको चामे गाउँपालिका–१, तिमाङ जंगलमा लागेको डढेलो १० दिन बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन। जटिल भूगोलका कारण आगो निभाउन कठिन भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मातृका आचार्यले जानकारी दिएका छन्।
“डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ। स्थानीयवासी पनि सक्रिय रूपमा खटिनुभएको छ। तर, कठिन भौगोलिक अवस्था र हावाहुरीका कारण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन,” प्रजिअ आचार्यले भने।
डढेलोले जंगलका चरन क्षेत्र ध्वस्त पार्न थालेको भन्दै उनले थपे, “डढेलोका कारण जंगलमा रहेका भेडा, च्यांग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएका छन्। साथै, राष्ट्रिय पन्छी डाँफेको वासस्थान र कोपिला लागेको लालीगुँरासका बोटसमेत जलेका छन्।”
सुरक्षाकर्मी र स्थानीयबासीले मिलेर आगो निभाउने प्रयास गरिरहेका छन्। तर, भीरालो र कठिन भूगोल भएका स्थानमा पुग्न नसक्दा नियन्त्रणमा समस्या भइरहेको प्रजिअ आचार्यले बताए। बस्ती भने सुरक्षित रहेको उनले जनाएका छन्।
यसअघि, २०७७ साल मंसिर २ गतेदेखि लागेको डढेलो नियन्त्रणमा आउन दुई महिना लागेको थियो, जसका कारण मनाङको १,२०० हेक्टर जंगल जलेको थियो।



