काठमाडौं | हाल देशभरको मौसममा स्थानीय वायु, पश्चिमी वायु र छिमेकी भारतको बिहार आसपास सक्रिय न्यून चापीय रेखाको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली रहेको छ। ती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ। त्यस्तै, केही स्थानमा गडगडाहटसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने छ भने अन्य भूभागमा मौसम मुख्यतया सफा वा आंशिक बदली हुने पूर्वानुमान छ। कोशीको केही स्थान र अन्य पहाडी भागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
चट्याङ्ग, वर्षा तथा हिमपातका कारण कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात र जनजीवनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आम नागरिकलाई आग्रह गरेको छ।
आज सूर्योदय बिहान ५ बजेर ३४ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ६ बजेर ३१ मिनेटमा हुने जनाइएको छ।