हेटौंडा | हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नगरका १९ वडामा २९ करोड ४० लाख रुपैयाँ बराबरको बजेट सिलिङ तोकेको छ। वडाहरूले तोकिएको सिलिङअनुसार योजना तयार पार्ने क्रम जारी रहेको छ।
उपमहानगरले गत असार १० गते नगरसभा बसेर आगामी वर्षको बजेटको खाका सार्वजनिक गरेको थियो। त्यसपछि वडाहरूलाई आ–आफ्नो क्षेत्रका योजनाहरू समेट्नका लागि सिलिङ पठाइएको हो। नगरसभा असार २७ गतेका लागि बोलाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत भरत गौतमका अनुसार चालु आर्थिक वर्षका भुक्तानीको प्रक्रिया मंगलबारसम्म चलिरहेको भएकाले आगामी वर्षको बजेटको पुस्तिका तयार पार्ने काम बुधबारदेखि सुरु हुनेछ। “नगरसभा सदस्यले माग गरेअनुसार बजेट किताब कम्प्युटर प्रणालीमै तयार गर्न समय नपुगेकाले प्रारम्भिक रूपमा एक्सेल फाइलमा नगरसभामा प्रस्तुत गरिनेछ,” उनले भने।
नगरले आगामी वर्षका लागि २ अर्ब ९० करोड रुपैयाँ बराबरको बजेटको खाका ल्याउने तयारी गरिरहेको छ। चालु आर्थिक वर्षको करिब ४० करोड रुपैयाँको दायित्व आगामी वर्षमा सर्ने भएकाले स्रोत व्यवस्थापनको आवश्यकता देखिएको बताइएको छ।
वडागत बजेटको वितरण
उपमहानगरका राजस्व व्यवस्थापन शाखा प्रमुख मनोज सुवेदीका अनुसार वडाहरूलाई यस वर्षदेखि कार्यालय व्यवस्थापनका लागि अतिरिक्त १५–१५ लाख रुपैयाँ छुट्ट्याइएको छ। वडागत सिलिङ यस्तो छ —
- वडा नं. २, ४, ५, ६, ७, ८, ९, १० र ११ लाई १ करोड ४० लाख २३ हजार
- वडा नं. १, ३, १२, १३, १४, १५, १६ र १७ लाई १ करोड ६१ लाख ४८ हजार
- वडा नं. १८ लाई १ करोड ८२ लाख ७३ हजार
- वडा नं. १९ लाई सबैभन्दा बढी २ करोड ३ लाख ९८ हजार
नगरका अधिकांश वडाहरूले योजना पठाइसके पनि केही वडाले मंगलबारसम्म योजना पेस गर्न बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए।
नगरपालिकाले बजेटका किताब तयार पारेर पारदर्शी र प्रभावकारी ढंगले योजना कार्यान्वयन गर्ने बताएको छ। नगरसभा सदस्यहरूले बजेट पारित गर्दा दिगोपनाका लागि योजना छनोटमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्।



