समाजहेटौँडामा प्रदेशस्तरीय कृषि थोकबजार उद्घाटन

हेटौँडामा प्रदेशस्तरीय कृषि थोकबजार उद्घाटन

हेटौँडा | बागमती प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको साझेदारीमा निर्माण गरिएको प्रादेशिक कृषि थोकबजार आइतबार उद्घाटन गरिएको छ। प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठ र उपमहानगर प्रमुख मीनाकुमारी लामाले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

करीब ३२ करोड १० लाख रुपैयाँ लागतमा बनेको दुईतले थोकबजार भवनमा ४० वटा सटर, तरकारी ओसारपसारका लागि ४ कार्गो र २ यात्रु लिफ्ट, खुद्रा बिक्रीका लागि २३ सटरसहित छुट्टै भवन र साना किसानका लागि टहराको व्यवस्था छ। साथै, २ सय ३२ वर्गमिटर क्षेत्रफलमा बनेको कोल्ड स्टोरेजमा एकैपटक ५ सय मेट्रिकटनसम्म कृषिउपज भण्डारण गर्न सकिने छ।

थोकबजार कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा फैलिएको छ। प्रदेश सरकारले ७० प्रतिशत र उपमहानगरपालिकाले ३० प्रतिशत लागत व्यहोरेर बजार निर्माण गरिएको हो। पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयले थप ७७ लाख रुपैयाँ विनियोजन गरेको थियो।

उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले प्रदेश सरकारले यसलाई नमुना कार्यक्रमका रूपमा अघि बढाएको बताए। उनका अनुसार बजार सञ्चालनका लागि हेटौँडा उपमहानगर र मन्त्रालयले संयुक्त कार्यविधि तयार गर्नेछ। उनले भने, “कृषि प्रवद्र्धन ऐन सदनबाट पास भइसकेको छ। प्रमाणीकरण भएपछि किसानका उत्पादन सीधै उपभोक्तासम्म पुर्‍याउने मूल्यश्रृंखला आधारित अभियान थालिन्छ।”

उनले प्रदेशको ८० प्रतिशत जमिन बाँझो रहेकामा चिन्ता व्यक्त गर्दै कृषि उत्पादन बढाउन तीन तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए।

उपमहानगर प्रमुख लामाले कृषि थोकबजार किसानप्रतिको सम्मान भएको बताइन्। तर, भवनमा मन्त्रालय राखिएकोप्रति असन्तुष्टि जनाउँदै उनले किसानले सुविधा सम्पन्न पूर्वाधार प्रयोग गर्न पाउनुपर्ने धारणा राखिन्। कार्यविधि स्वीकृत भएलगत्तै दशैंअघि बजार सञ्चालनमा ल्याइने उनले बताइन्।

उनका अनुसार थोकबजार सञ्चालनमा आएपछि किसानलाई प्रत्यक्ष लाभ हुने र राज्यलाई आर्थिक टेवा पुग्नेछ। उनले भनिन्, “यो हेटौँडाको मात्र नभई प्रदेशकै सम्पत्ति हो। तत्कालीन मुख्यमन्त्री र मन्त्रीको सोचका कारण राजधानी हेटौँडामै नमुना थोकबजार निर्माण सम्भव भएको हो।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img