समाजसर्पदंश उपचार चुस्त बनाउन हेटौँडा अस्पतालमा अभिमुखीकरण

सर्पदंश उपचार चुस्त बनाउन हेटौँडा अस्पतालमा अभिमुखीकरण

हेटौँडा | मकवानपुरमा सर्पदंशका घटना बढ्दै गएपछि हेटौँडा अस्पतालमा सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालले आकस्मिक सेवामा सुधार गर्दै सर्पदंशको उपचारमा ढिलाइ न्यून गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा डा. हरिबहादुर खड्काले सहजीकरण गर्दै विषालु र अविषालु सर्प छुट्याउने तरिका, प्राथमिक उपचार प्रक्रिया, इन्टिभेनमको प्रयोग र बिरामी व्यवस्थापनबारे विस्तृत प्रशिक्षण दिए। उनका अनुसार धेरै टोकाइमा विष नपस्ने ‘ड्राइबाइट’ हुने भएकाले अनावश्यक त्रास सिर्जना गर्नु नपर्ने बताइयो। हेटौंडा अस्पतालमा सरकारले निःशुल्क उपलब्ध गराएको एन्टिभेनममार्फत उपचार सम्भव भएको पनि जानकारी गराइयो।

आकस्मिक कक्ष, आइसियु, एचडीयु र ओपीडीमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी गरी करिब ६० जनाले कार्यक्रममा सहभागिता जनाए। कार्यक्रममा मकवानपुरमै सक्रिय सर्प उद्धारकर्मी राजेश थापा गरिब र रोशन दिप थापाले पनि अनुभव बाँडे। पत्रकारसमेत रहेका थापा गरिबले अन्धविश्वास तोड्न तथ्यसहितको अभियान सञ्चालन गर्दा आलोचना खेप्नुपरेको स्मरण गरे। उनका अनुसार सर्पसँग सम्बन्धित धार्मिक नाममा हुने ठगी कार्य रोक्न जनतालाई प्रष्ट जानकारी दिनु जरुरी छ।

उनीहरुले हालसम्म मकवानपुरमा १७ प्रजातिका सर्प उद्धार गरेको तथ्य सार्वजनिक गरे। उद्धार गरिएका सर्पमा नेपालमै अति विषालु मानिने बेन्डेड करेट, मोनोस्लेड कोब्रा, स्पेक्टकल कोब्रा, कोरल स्नेक र ग्रीन पिट भाइपरसमेत रहेका छन्। उनीहरूले अविषालु र हल्का विषालु प्रजातिका सर्प पनि बस्ती वरिपरि देखिने भएकाले सतर्क रहन आग्रह गरे।

अभिमुखीकरणमा सहभागीहरूले सर्पदंशका बिरामीलाई वीरगञ्ज, भरतपुर वा काठमाडौं पठाउने प्रवृत्ति अन्त्य गरी स्थानीयमै उपचार गर्ने वातावरण बनाउनुपर्ने निष्कर्ष निकाले। आकस्मिक कक्षमै तत्काल उपचार सुरु गर्ने अभ्यासलाई संस्थागत गर्नुपर्नेमा पनि जोड दिइयो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img