समाजहेटौँडामा जेनजेडको प्रदर्शन : भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडकमा विद्यार्थी

हेटौँडामा जेनजेडको प्रदर्शन : भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडकमा विद्यार्थी

हेटौँडा । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध जेनजेड पुस्ताले हेटौँडामा सोमबार सशक्त प्रदर्शन गरेका छन्। देशव्यापी आन्दोलनको क्रममा हेटौँडामा पनि विद्यार्थीहरू औपचारिक पोशाकमै सडकमा उत्रिएका थिए।

हेटौँडा उपमहानगरपालिका–चोक र हुप्रचौरबाट निस्किएको प्रदर्शन बुद्धचोक, सिमाचोक हुँदै बागमती प्रदेशसभासम्म पुगेको थियो। करिब दुई घण्टासम्म बुद्धचोक क्षेत्र बन्द पार्दै विद्यार्थीहरूले ‘भ्रष्टाचार बन्द गर’, ‘सामाजिक सञ्जाल खोल’, ‘युवाले चाहेको परिवर्तन दे’ जस्ता नाराबाजी गरे।

जुलुस प्रदेशसभा भवन अगाडि पुगेपछि प्रदर्शनकारीहरूले कर प्रणालीको दुरुपयोग, सरकारी अकर्मण्यता र सामाजिक सञ्जाल प्रतिबन्धलाई लोकतान्त्रिक मूल्यविपरीत भन्दै नाराबाजी गरे।
एक विद्यार्थीले भने, “हामीले तिरेको करको सदुपयोग हुनुपर्छ। तर सरकारले दुरुपयोग गरिरहेको छ। भ्रष्टाचार रोक्ने, आवाज उठाउने माध्यम नै बन्द गर्ने निर्णय अस्वीकार्य छ।”

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले परिवर्तन सम्भव छ तर त्यसका लागि युवालाई अवसर र स्वतन्त्रता चाहिने बताए।
“हामी भविष्य खोजिरहेका छौँ। तर सरकारले हाम्रो आवाज सुन्ने माध्यम नै बन्द गरिदियो। यस्तो दमनको बिरुद्धमा हाम्रो आन्दोलन निरन्तर अगाडि बढ्छ,” अर्का विद्यार्थीको भनाइ थियो।

जुलुस बुद्धचोकमा पुनः भेला भएर शान्तिपूर्ण सभामा परिणत भयो। सहभागीहरूले आन्दोलन निरन्तर जारी राख्ने चेतावनी दिंदै सामाजिक सञ्जाल प्रतिबन्ध फिर्ता लिन र भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्न माग गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img