Wednesday, February 12, 2025
फिचरनेताहरुले आफु धनी भएर देशलाई गरिब बनाए: डा.भण्डारी

नेताहरुले आफु धनी भएर देशलाई गरिब बनाए: डा.भण्डारी

मकवानपुर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले नेताहरुले आफु धनी भएर देशलाई गरिब बनाएको आरोप लगाएका छन् । आइतबार विपी विचार समाज मकवानपुरको आयोजना हेटौंडामा भएको विचार गोष्ठीलाई सम्बोधनका क्रममा प्रतिनिधिसभा सदस्य समेत रहेका डा.भण्डारीले अहिले युवाले घुम्ति होईन सुरुङमार्ग खोजेको बताउँदै नेताहरुले आफु धनी भएर देशलाई गरिब बनाएको आरोप लगाएका हुन् ।

भाषणले मात्र देश नचल्ने, प्राकृतिक स्रोतसाधनलाई अधिकतम प्रयोग गरी मूलुकमा देखा परेको समस्यालाई पार लगाउनुपर्नेमा उनको जोड थियो । यूवाले परिवर्तन मागेपनि राजनीतिक दलहरुले दिन नसक्नुको कारण नेताहरु अपडेट हुन नसकेको उनले बताए ।

डा.भण्डारीले समाजको आवश्यकता अनुसारको विकास र सुशासन नेताहरुले दिन नसकेको बताए । विपीको नेतृत्वको पालामा जस्तो नेताहरुमा नैतिकता नरहेको बताउदै उनले ४ आना जग्गाको लागि र्याल काड्ने प्रवृत्तिका कारण देशको अवस्था कमजोर बन्दै गएको बताए ।

नेताहरुले राजनीति छाडेर राष्ट्रनीति गर्नुपर्ने उनले सुझाए । अहिलेको नेताहरुले समाजले के खोजिरहेको छ भन्ने बारेमा थाहा नपाएको, विपीका समयमा नेताहरुमा अहिलेको जस्तो साँघुरो सोच नभएको उनले सुनाए ।

समय र प्रविधिअनुसार सरकार र नेतृत्वकर्ताले काम गर्न नसक्दा युवाहरुमा चरम निराशा पैदा भएको उनले औल्याए । नेतृत्वको कमजोरीका कारण राजनीतिमा इमोशन दिन नसकेको उनको भनाई थियो । नेपालको राजनीति नारायणगढ बुटवल खण्डको सडक जस्तै बनेको उनले टिप्पणी गरे ।

पाइलै पिच्छे नेताहरुलाई गलत गर्ने छुट नभएको बताउदै लोकतान्त्रिक व्यवस्थाअनुसार प्रविधिको सदुपयोग गरेर विकास र समृद्धिका लागि काम गर्नुपर्नेमा उनको जोड थियो । देशमा विश्वकै उत्कृष्ट संविधान कार्यान्वयन भएपनि सो अनुसार काम हुन नसकेको उनले बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा(एस)का केन्द्रीय सदस्य मुनु सिग्देल, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, वीपी विचार समाजका केन्द्रीय अध्यक्ष लोकेश ढकाललगायतले आफ्ना विचार राखेका थिए ।

वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोद चन्द्र ढकालको सभाध्यक्षतामा भएको गोष्ठीमा नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य उमा दाहाल, पुर्व सभापति माइकल रामचन्द्र अर्याल, कार्यबहाक सभापति धर्मराज लामिछाने, नेकपा(एस) मकवानपुर अध्यक्ष विष्णु दाहाल लगायत नेतागणहरुको आतिथ्यता रहेको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस