सिरहा । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सिरहाको जनसभा र पार्टीको ११ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा भाग लिँदै सशक्त भाषणमार्फत देशको राजनीतिक वर्तमान र सम्भावित भविष्यको नक्सा कोर्न प्रयास गरे।
प्रधानमन्त्री ओलीको भाषण स्पष्ट राजनीतिक सन्देशले भरिएको थियो—”एमालेलाई हल्लाउन कोही सक्दैन, देश जोगाउने शक्ति यही पार्टी हो,” भन्ने ठोकुवा उनले गरे। सिरहा बजारमा आयोजित अधिवेशन उद्घाटन समारोहमा ओलीले विगतका उपलब्धिहरू स्मरण गर्दै पार्टीको संगठनात्मक क्षमता, जनसमर्थन र स्थायीत्वमा जोड दिएका थिए।
“हाम्रो पार्टीलाई कसैले धुलो चटाउँछु भन्ने सपना देख्दा पनि जनताको मनको गहिराइसम्म पुगेको हाम्रो संगठनलाई हल्लाउन सकिँदैन भन्ने सत्य सबैले बुझ्नुपर्छ,” ओलीको भनाइ थियो।
अहिलेको राजनीतिक सन्दर्भ उठाउँदै प्रधानमन्त्री ओलीले १५ चैतमा भएको तोडफोड र आगजनीलाई गम्भीर चुनौतीको रूपमा चित्रित गरे। उनले ती गतिविधिलाई “अराजक र विध्वंसकारी” भन्दै त्यसले राजतन्त्रपन्थीको असली रूप प्रकट गरेको दाबी गरे।
“औषधि उद्योग जलाउने, मिडियामाथि हमला गर्ने, अरुको सम्पत्तिमा आगो लगाउनेको हातमा सत्ताको कल्पना गर्नु पनि अपराध हो,” उनले भने, “राजतन्त्र फर्किन्छ भन्ने सपना दिउँसो देखिएको भ्रम हो, जुन कहिल्यै पूरा हुँदैन।”
सिरहाको जनतासँग गहिरो सम्बन्ध रहेको र मधेसका मुद्दामा आफुले पहल गर्दै आएको स्मरण गराउँदै ओलीले सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्य सुधार जस्ता पहलहरू आफूले प्रधानमन्त्रीको हैसियतमा सुरु गरेको बताए। मधेसका समस्या केन्द्रमा उठाउन आफू प्रतिबद्ध रहेको दाबी गर्दै उनले संघीय सरकार त्यसतर्फ क्रियाशील रहेको उल्लेख गरे।
संगठनमा ‘प्यानल’ बनाएर गुटबन्दी गर्नुको सट्टा सर्वसम्मत नेतृत्व चयनको खाँचो रहेको भन्दै ओलीले कार्यकर्तालाई स्पष्ट सन्देश दिए –
“गुट बनाएर चुनावमा जानु उचित होइन, यसले संगठनभित्रै फाटो ल्याउँछ,” भन्दै उनले सहमतिको माध्यमबाट नेतृत्व चयनको पक्षमा दृढता व्यक्त गरे।
कार्यक्रमको विशेष आकर्षण भनेको अन्य दलबाट एमाले प्रवेश गर्ने नेताहरू थिए। जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाई नगरपालिकाका वडाध्यक्ष विजयकुमार सिंहसहित करिब ५०० जनाले औपचारिक रूपमा एमाले प्रवेश गरे। ओलीले स्वयं ती सबैलाई पार्टीमा स्वागत गरे।
प्रधानमन्त्री ओलीले शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गर्दै शहिदप्रति सम्मान प्रकट गरे। साथै, सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको उद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा लगानीलाई राज्यको प्राथमिकता बनाउनु पर्ने कुरामा जोड दिए।
वर्तमान गठबन्धन सरकार स्थिर रहेको र आगामी चुनावसम्म निरन्तरता पाउने उनको ठोकुवा थियो।
“सरकार अहिले ढल्छ भन्नेहरू थाके, अब यो सरकार टसमस हुँदैन। १५ महिनापछि कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गरिनेछ,” उनले भने।
भाषणको अन्त्यमा ओलीले नेपालको प्रणालीलाई विश्वकै उत्कृष्ट प्रणालीको संज्ञा दिँदै जनतामैत्री शासन र सुशासनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने धारणा राखे।
“सामाजिक न्याय, समानता, समावेशीकरण र सुशासन सुनिश्चित गर्ने यो व्यवस्थाको विकल्प सोच्न पनि सकिन्न,” भन्दै उनले सिंगो मुलुकलाई एकतावद्ध बनाउने आह्वान गरे।