हेटौँडा | बागमती प्रदेश सरकारको नेतृत्वमा फेरबदल हुने सम्भावना बढेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाको कामकारबाहीप्रति असन्तुष्ट रहेको कांग्रेस नेतृत्वले बजेट पारित भएलगत्तै नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले लामाको सट्टा मकवानपुरका युवा नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने निष्कर्षमा पुगिसकेका छन्। देउवा लामासँग पहिल्यै असन्तुष्ट रहेको र आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेले प्रस्तुत गरेको बजेटले थप असन्तुष्टि बढाएको बताइएको छ।
काफ्लेले पहिरो नियन्त्रण र पर्यटन पदमार्ग जस्ता योजना राखेर बजेटको ठूलो हिस्सा त्यहीँ केन्द्रित गरेको भन्दै कांग्रेसभित्र ‘टंकी बजेट’ भन्दै आलोचना भएको छ। यसले देउवाको असन्तुष्टि चुलिएको स्रोतको दाबी छ।
मुख्यमन्त्री हटाउन कांग्रेसले संसदीय दलमा पहल थालेको छ। दलको नेताबाट नै उनलाई हटाउने प्रक्रिया सुरु गर्नुपर्ने भएकाले सहमतिका लागि छलफल भइरहेको बताइएको छ। तर, लामा सहजै राजीनामा दिन तयार नभएको स्रोतले जनाएको छ। बानियाँ पक्षले भने आर्थिक वर्षको अन्त्यसँगै पद हस्तान्तरण गर्ने सहमति लामासँग भएको दाबी गर्दै आएको छ।
लामा र बानियाँ दुवै देउवा पक्षका हुन्। कांग्रेसले नेतृत्व परिवर्तन गरेसँगै सरकारका मन्त्रीहरूको टिममा पनि फेरबदल हुने सम्भावना रहेको बताइएको छ। यससँगै सत्ता साझेदार एमालेतर्फ पनि मन्त्री परिवर्तनको चर्चा सुरु भएको छ।



