काठमाडौं | दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार भएका दुई खेलमा चितवन राइनोज र विराटनगर किङ्सले उत्कृष्ट जीत निकाल्दै प्रतियोगितामा ऊर्जामय सुरुआत गरेका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल चितवन र कर्णालीबीच तथा दोस्रो खेल विराटनगर र पोखराबीच भएको थियो।
पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनका लागि इंग्लिस अलराउन्डर रवि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्का सहित ५१ रन बनाए। ओपनर दीपक बोहराले ४२ रन जोडे भने सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्कासहित ३८ रनको आक्रमक योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले ३ विकेटमा १६६ रन बनाएको थियो। ओपनर प्रियांक पान्चालले ४८ बलमा ७ चौका र ६ छक्का समावेश ९० रनको दमदार पारी खेले। म्याक्स ओ’डाउडले २०, मार्क वाटले १६ र पवन सर्राफले १६ बलमा अविजित २७ रन जोडे।
बलिङतर्फ चितवनका सोहिल रनभीर, सैफ जैब र रबि बोपाराले १–१ विकेट लिए। कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए भने मार्क वाट, युवराज खत्री र युनिश सिंहले १–१ विकेट हात पारे। यो चितवनले एनपीएलमा कर्णालीविरुद्ध निकालेको पहिलो जित हो। पहिलो संस्करणमा दुई खेलै कर्णालीले जितेको थियो।
दोस्रो खेल भने एकदमै एकतर्फी बन्यो। विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै बलियो प्रदर्शन गर्यो। विराटनगरले टस हारेर पहिले ब्याटिङ गर्दा ६ विकेटमा २२० रन बनायो, जुन एनपीएल इतिहासकै सर्वोच्च स्कोर हो।
पहिलो सिजनमा लुम्बिनी लायन्सले बनाएको १९१ रनको उच्च योगफललाई यो स्कोरले तोडिदियो।
विराटनगरका ओपनर लोकेश बमले ४८ बलमा ७ छक्का र १ चौका सहित ७२ रन बनाए। अर्का ब्याटर मार्टिन गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रन जोडे। यी दुवैले एकै खेलमा अर्धशतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाए।
शुभम रञ्जानेले १६ बलमा ३८ रन र बसिर अहमदले २३ रन थपे।
२२१ रनको विशाल लक्ष्य पछ्याउँदै आएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो। कप्तान कुशल भुर्तेलले ५९ रन बनाए भने एडम रोस्सिंटनले ३९ र ड्यान डाउडेर्थले २९ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुने मौका पाएनन्।
विराटनगरका प्रतिश जिसी, शुभम रञ्जाने, मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले समान २–२ विकेट लिए। बसिर अहमद र सूर्य तामाङले एक–एक विकेट जोडे। पोखराका बलरहरू भने विराटनगरका ब्याटरअगाडि निकै महँगा सावित भए । एकै खेलमा १० चौका र १७ छक्का व्यहोर्नुपर्यो।
सागर ढकाल र कुशल भुर्तेलले विराटनगरका महत्त्वपूर्ण विकेट लिएका भए पनि रन रोक्न नसकिए। जेम्स निसाम दुई ओभरमा २२ रन दिएर विकेटरहित रहे।
समग्रमा, एनपीएल २०२५ को आजको खेल दिवस नेपाली र विदेशी खेलाडीको सन्तुलित प्रभावले चम्कियो। चितवनको बोपारा–जैब संयोजनदेखि विराटनगरको लोकेश–गप्टिलको कीर्तिमानी प्रदर्शनसम्म, दुवै खेलले प्रतियोगिताको उर्जा अझै बढाइदिएको छ।



