मकवानपुर
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, गोठभित्तामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय अन्दाजी ४० देखि ४२ वर्षीय रमेश पाख्रिन छन्। शुक्रबार राति मादक पदार्थ सेवन गरेका रमेशले आफ्नै घरमा अन्दाजी ३५ देखि ४० वर्षीया श्रीमती रुकु पाख्रिनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेका अनुसार कुटपिटबाट रुकु अचेत भएको खबर प्राप्त भएपछि प्रहरी चौकी फाखेलबाट प्रहरी टोली खटिएको थियो। घटनास्थलमा पुगेको प्रहरीले रुकुलाई घरको सुत्ने कोठामा मृत अवस्थामा फेला पारेको हो।
प्रहरीले घटनास्थल सुरक्षित राखेर रमेशलाई नियन्त्रणमा लिएको थियो। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको नेतृत्वमा घटनास्थल अनुसन्धान टोली (सोको) समेत खटिएको थियो।
घटनास्थलको आवश्यक कानुनी प्रक्रिया पूरा गरी रुकुको शव पाटन अस्पताल पठाइएको छ। पक्राउ परेका रमेशलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइँदै गरेको प्रवक्ता काफ्लेले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



