भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्। स्थानीय प्रशासनले होल्डिङ सेन्टरभित्र खाना लैजान अनुमति नदिएपछि उनीहरू सडक किनारमा बसेर खाना खान बाध्य भएका हुन्।
सुकुम्बासीलाई सहयोग गर्न जेन–जी अभियन्ता माजिद अन्सारीसहितको टोली शनिबार बिहान खाना लिएर होल्डिङ सेन्टर पुगेको थियो। तर, प्रशासनले सेन्टरभित्र खाना प्रवेशमा रोक लगाएपछि आश्रित सुकुम्बासीहरूले बाहिर सडकमै बसेर खाना खाएका हुन्।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचना जारी गर्दै शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर, वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म उक्त स्थान नछाड्ने अडानमा सुकुम्बासीहरू रहेका छन्।
सरकारले खाना बन्द गर्दै ठाउँ खाली गर्न निर्देशन दिएपछि होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीको व्यवस्थापनको विषय थप पेचिलो बनेको छ।


